त्रियुगा ५ को वडाध्यक्ष कप क्रेजी क्लवले चुम्यो 

२0७७ फाल्गुन २ आईतवार
त्रियुगा ५ को वडाध्यक्ष कप क्रेजी क्लवले चुम्यो 

जलजले

त्रियुगा नगरपालिका ५ द्वारा आयोजित ‘प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०७७’ को उपाधि क्रेजी स्र्पोटस क्लव श्रीपुरले चुमेको छ । उदयपुर सिमेण्ट उद्योग लिमिटेड जलजले खेलमैदानमा शनिबार सम्पन्न फाईनल खेलमा आयोजक प्रकृति समाज सुधार क्लबलाई टाईब्रेकरमा ३–२ ले हराउँदै श्रीपुर उपाधि चुम्न सफल भएको हो । 

 

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । खेलको सुरुमै आक्रामक रुपमा प्रस्तुत भएको आयोजक टिमले गोल गर्न नसक्दा रक्षात्मक देखिएको श्रीपुरलाई टाईब्रेकरमार्फत उपाधि लिन सहज भएको आयोजक क्लबका अध्यक्ष जीवन गुरुङले बताए । 

 


समापन समारोहमा त्रियुगा नगरप्रमुख बलदेव चौधरी र ५ नंं वडाध्यक्ष उद्धवबहादुर थापालगायतले विजेता श्रीपुरलाई १० हजार नगद, ट्रफि र प्रमाणपत्र तथा उपविजेतालाई ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरे । प्रतियोगिताका म्यान दफ द म्याच, सर्बोत्कृष्ट खेलाडी, सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डरलाई पनि ट्रफि र प्रमाणपत्र प्रदान गरियो । 


पुरस्कार वितरण गर्दै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले खेलाडीको वृत्ति विकासमा नगरपालिका सँधै लागिरहेको र भविष्यमा पनि लागिरहने प्रतिबद्धता जनाए । खेलकुदको माधयमबाट युवा जमातलाई गोलबन्द गर्दै नगरको विकास निर्माणमा सहभागी गराउन नगरपालिकाले प्रत्येक वडा र टोलटोलसम्म खेलकुका गतिबिधि गर्दै आएको मेयर चौधरीको भनाई थियो । 


वडाध्यक्ष थापाले वडाको आफ्नै खेलमैदान नहुँदा खेलाडीलाई खेल अभ्यास र प्रतियोगिता गर्न समस्या भएको सुनाए । नगरपालिका र उदयपुर सिमेण्ट उद्योगले सहयोग गरे वडाले आफ्नै खेलमैदान निर्माण गर्न सक्ने भन्दै त्यसका लागि मेयरले समन्वय गरिदिन वडाध्यक्ष थापाले आग्रह गरे । खेलकुद क्षेत्रको विकास र युवा परिचालनका लागि वडाबाट वर्षेनी बजेट गर्दै आएको पनि उनले बताए । 


नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले खेलकुद क्षेत्रले युवाजगतलाई अनुशासित, गतिसिल र स्वस्थ राख्ने भएकाले वडा र नगरपालिकाले यसप्रति चासो दिनुपर्ने सुझाए । खेलकुदको अवसर नपाउँदा गाउँघरका क्षमतावान र प्रतिभावान युवाहरु प्रतिभा देखाउन नसक्दा देश र समाजले लाभ लिन नसकेको उनले बताए । 
 

कार्यक्रममा अतिथि तथा खेलाडी र खेलप्रेमीलाई स्थानीय कलाकारहरुको समूहले गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन गराएको थियो ।