देशव्यापी आन्दोलन चर्केपछि झाक्री रिहा

२0७७ माघ २९ बिहीबार
देशव्यापी आन्दोलन चर्केपछि झाक्री रिहा

उदयपुर

सरकारविरुद्ध देशव्यापी चर्को बिरोध सुरु भएपछि पक्राउ गरेको ६ घण्टा नबित्दै नेकपा प्रचण्ड–माधव (प्रमा) समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले  छाडेको छ । राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अमर्यादित शब्द बोलेको अभियोगमा बिहीबार विहान झाँक्रीलाई आफ्नै निवासबाट पक्राउ पुर्जी देखाउँदै प्रहरीले नियन्त्रमा लिएको थियो । 


उनको पक्राउविरुद्ध प्रमा समूहका अध्यक्षद्वय प्रचण्ड, माधव नेपाल, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, डा. सशांक कोईराला, गगन थापा, जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादवलगायतले घोर भत्र्सना गरेका थिए । झाँक्रीको तत्काल रिहाईको माग गर्दै देशविदेशबाट सरकारप्रति कटाक्ष र देशव्यापी विरोध कार्यक्रम सुरु भएपछि प्रहरीले उनलाई साँझ रिहा गरेको हो । 


झाँक्री पक्राउविरुद्ध देशव्यापी आन्दोलन गर्ने क्रममा उदयपुरमा पनि अनेरास्ववियु तथा युवा संघ नेपालले विरोध कार्यक्रम गरेको छ । पक्राउविरुद्ध साँझमा गाईघाटमा अखिल र युवा संघले मसाल जुलुससहितको विरोध र्याली निकाल्दै बजार परिक्रमा गरी सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । 


गलत कार्यका विरुद्ध बोल्न नदिने सरकारको तानाशाही रबैयाप्रति राजनीतिक दल, नागरिक समाज, पत्रकार र सर्वसाधारणले सामाजिक सञ्जालमा पनि चर्को विरोधका असन्तुष्टि पोखेका छन् । 

 

रिहा भएपछि झाँक्रीले राजनीतिक पूर्वाग्रह राखेर आफुलाई पक्राउ गरी सरकारले तानाशाही प्रबृत्तिको छवि उदांगो बनाएको बताएकी छिन् । उनले पक्राउ गर्दैमा आफु सत्य, न्याय र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बोल्न नछाड्ने प्रतिबद्धता पनि जनाएकी छिन् । तस्विर सभारः अनलाईनखवरडटकम