लागुऔषध, चोरीका गहना र गाँजासहित ८ पक्राउ

२0७७ माघ २७ मंगलवार
लागुऔषध, चोरीका गहना र गाँजासहित ८ पक्राउ

उदयपुर

उदयपुर प्रहरीले लागुऔषध, चोरीका सामान र गाँजासहित बिभिन्न ठाउँबाट ८ जनालाई पक्राउ गरेको छ । ६३ थान बिभिन्नखाले लागुऔषधसहित एकैठाउँबाट पक्राउ परेका ६ जना तथा चोरीका १८ थान सुनचाँदीका गहना र एउटा ल्यापटप अनि १ सय २१ किलो गाँजासहित पक्राउ २ जनालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 

 


सम्मेलनमा सार्वजनिक गरिए अनुसार सोमबार साँझ ५ः०० बजे त्रियुगा नगरपालिका ६ जलजलेमा सिराहाको लहानबाट गाईघाटतर्फ आउँदै गरेको सवारी साधन चेकजाँच गर्दा लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । ६३ एम्पुल लागुऔषध र २ थान सिरिन्जसहित त्रियुगा १ का ३२ वर्षीय विदुर अधिकारी, त्रियुगा १४ का २६ वर्षीय कुमार मगर, त्रियुगा १३ का २५ वर्षीय सागर चौधरी, त्रियुगा १२ का १५ वर्षीय राजाराम भगत, त्रियुगा ११ का २६ वर्षीय असिम राई र सुनसरी ईटहरी उपमहानगरपालिका २ का २५ वर्षीय अभिषेक जैसवाल पक्राउ परेका छन् ।


उनीहरुको साथबाट डाइजेपाम २१ एम्पुल (थान), फेनार्गन २१ एम्पुल, लुपिजेसिउ २१ एम्पुल बरामद भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

 


सोमबारै राति त्रियुगा १२ का राजकुमार श्रेष्ठको घरबाट चोरी भएको एउटा ल्यापटप, ओप्पो मोबाईल १ थान र सोही ठाउँकी रुपा खड्काको घरबाट १ थान सुनको बाला, ३ थान औठी, चाँदीको कल्ली ४ थान, चाँदीका पाउजु २ थान, चाँदीकै सिक्री ३ थान, ब्रास्लेट २ थान, औठी ३ थानसहित पक्राउ परेका त्रियुगा ११ का २६ वर्षीय बालकुमार बुढाथोकीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।


त्यसैगरी सोमबार दिउँसो कटारी नगरपालिका ८ सानो दमारस्थित सिद्धिचरण लोकमार्गको बेतिनीबाट १ सय २१ किलो गाँजासहित ताप्ली गाउँपालिका ३ निगालबास स्थायी घर भई सिरहाको धनगढीमाई नगरपालिका १० जिरोमाईलमा बस्दै आएका ४१ वर्षीय सन्तबहादुर मगर पक्राउ परेका हुन् । उनलाई बेतिनीबाट कटारीतर्फ आउँदै गरेको स १ च ८०४ नं. को बोलेरोमा अदुवाको बोरामा लुकाएर लाँदै गरेको गाँजा फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

लागुऔषध, सुनचाँदीका गहना र गाँजासहित पक्राउ सबैलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिएका छन् ।