रौतामाईको सल्लेमा ३ दिने आँखा शिविर

२0७७ माघ २७ मंगलवार
रौतामाईको सल्लेमा ३ दिने आँखा शिविर

सल्ले

रौतामाई गाउँपालिका वडा नं. ४ को सल्लेमा ३ दिने निशूल्क आँखा शिविर सुरु भएको छ । गाउँपालिकाले नेपाल आई हस्पिटल त्रिपुरेश्वर काठमाडौंसँगको सहकार्यमा स्थानीय माावि सल्लेमा शिविर सुरु गरेको हो ।  


स्वास्थ्यप्रति सचेत हुँदै सोमबारदेखि सुरु शिविर बुधबारसम्म चल्ने जनाइएको छ । शल्यक्रिया (अप्रेसन)सहितको आखाँ शिविर गाउँमै सञ्चालन गरिदा गाउँका जेष्ठ नागरिक, आँखाका समस्या भोग्दै आएका सर्वसाधारणलाई सहज भएको छ । अपाङ्गता भएका, बालबालिका, जेष्ठ नागरिकलागयत सर्वसाधारणलाई शिविरले सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले लिएको छ । 


मानव जीवनको पहिलो र महत्वपूर्ण अङ्ग आँखा भएकाले हेरचाह र हिफाजत गर्न सचेत गराउँदै गाउँपालिकाले शिविर सञ्चालन गरेको अध्यक्ष गजेन्द्र खड्काले बताए । गाउँपालिकाका ८ ओटै वडाबासीको पहुँच पुगोस् भनेर सल्लेमा शिवर राखिएको हो । भौगोलिक रुपमा सल्ले सबै वडाबासीका लागि केन्द्र पर्ने भएकाले त्यहाँ शिविर राखिएको आयोजकको भनाई छ । आई हस्पिटलका मेडिकल डाईरेक्टर डा. कमल खड्का नेतृत्वको टोलीले ३ दिने शिविरमा निशुल्क जनशक्ति र प्राविधिक सहयोग गर्नेछ । 


शिविरमा डा. खड्का नेतृत्वको टोलीले आँखाको सामान्य उपचारदेखि मोतियाविन्दु शल्यक्रियासम्म सेवा गर्ने बताइएको छ । मोतियाविन्दुका कारण आँखा नेदेख्नेहरु शल्यक्रियापछि आँखा देख्नसक्ने हुँदा शल्यक्रिया गर्नेगरी शिविर सञ्चालन गरिएको हो । शल्यक्रियापछि बिरामीले खानुपर्ने १ महिनाको औषधि र चस्मालगायत आवश्यक समाग्री पनि त्यही उपलब्ध गराइने छ । 


पहिलो दिनको शिविरमा मोतियाविन्दु शल्यक्रिया गर्ने विरामीको संख्या ५० जना रहेको छ । दोस्रो र तेस्रो दिन यो संख्या बढ्ने अनुमान गरिएको छ । उनीहरु सबैको अप्रेसन गरिने टोली नेता डा. खड्कालाई उद्धृत गर्दै आयोजक गाउँपालिकाले जनाएको छ । 


शिविरमा आँखाबाहेक अन्य बिभिन्न स्वास्थ्य जाँच र उपचारको पनि व्यवस्था गरिएको छ । ग्याष्टिक, गानोगोला, पेट दुख्ने, टाउको दुख्ने, ज्वरो, रुघा, खोकीलगायत जेनेरल रोगको पनि स्वास्थ्य जाँच र औषधि बितरण गरिने छ । त्यसका लागि ओपिडी सेवा सञ्चालन गर्न डा. सरोज चौधरी नेतृत्वको स्वास्थ्यकर्मी टोली राखिएको अध्यक्ष खड्काले बताए । 


शिविरलाई बहुआयामिक बनाउन अपाङगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई  परिचयपत्र वितरण पनि गरिने अध्यक्ष खड्काले बताए । त्यसैगरी कृषिको बिउविजन र पशुलाई औषधि पनि शिविरमा निशूल्क वितरण गरिने उनले बताए । ३ दिने शिविरमा सेवाग्राहीको संख्या बढेमा थप १ दिन सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।


शिविरमा सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न ३ ओटा एम्वुलेन्स परिचालन गरिएको छ । अपाङगता, जेष्ठ नागरिक र टाढाबाट आउने विरामी र शल्यक्रिया गरेपछि हिँडेर जान समस्या नहोस् भनेर एम्वुलेन्सको व्यवस्था गरिएकोे हो ।