पिसजोन एकेडेमी अध्यक्षमा महेन्द्र

२0७७ माघ २४ शनिबार
पिसजोन एकेडेमी अध्यक्षमा महेन्द्र

उदयपुर

गाईघाटको अगुवा नीजि विद्यालय पिसजोन इन्टरनेशनल एकेडेमीको व्यवस्थापन समिति अध्यक्षमा महेन्द्र राई दोहोरिएका छन् । ४ वर्षे कार्यकाल पुरा गरेका राईलाई शनिबार सम्पन्न वार्षिक साधारणसभाले आउँदो ३ वर्षका लागि नयाँ समितिको अध्यक्षमा पुनः चयन गरेको हो । 


त्रियुगा नगरपालिका ११ चप्पनस्थित वनभोजस्थलमा आयोजित साधारणसभाले राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको छ । व्यवस्थापन समितिसँगै साधारणसभाले बिभिन्न आधादर्जन उपसमितिसमेत गठन गरेको विद्यालयका अनुमगन तथा प्रशासन उपसमिति संयोजक टीका पौडेलले बताए । उनका अनुसार साधारणभाले खरिद, लेखा, प्रचारप्रसार, जनशक्ति व्यवस्थापन, होस्टेल (छात्राबास) व्यवस्थापनलगायत उपसमितिहरु पनि सर्वसम्मत गठन गरेको छ । 
    

साधारणसभामा अध्यक्ष राईले प्रस्तुत गरेको विद्यालयको वार्षिक प्रतिबेदन तथा आगामी शैक्षिक वर्षको प्रक्षेपण योजना स्वीकृत गरेको छ । त्यस्तै लेखा उपसमिति संयोजक मिथलेसप्रसाद साहले प्रस्तुत गरेको शैक्षिक वर्ष ०७६ को १ करोड ९९ लाख रुपैंयाको आय–व्यय समेटिएको आर्थिक प्रतिबेदन, गतवर्षको लेखा परीक्षण प्रतिबेदन पारित गर्दै चालु वर्ष माघ तेस्रो सातासम्मको आर्थिक बिबरण सार्वजनिक गरेको छ । 


साधारणसभाले चालु वर्ष कोविडको गम्भीर प्रभावबाट विद्यालयलाई उकास्दै लयमा फर्काउने तथा आगामी दिनमा विद्यालयलाई जिल्लाकै गुणस्तरीय शिक्षा प्रदान गर्ने उत्कृष्ट शिक्षण संस्था प्रमाणित गर्नेगरी शैक्षिक गतिबिधिमा केन्द्रित हुने निर्णय गरेको छ । ०६८ देखि माध्यामिकतहको पठनपाठन गराउँदै आएको जिल्लाकै उत्कृष्ट विद्यालयमध्येको एक पिसजोन एकेडेमीमा हाल ७ सय ४ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । 


यसै वर्षदेखि कक्षा ११ र १२ को पठनपाठन गर्ने अनुमति लिएको विद्यालयले कोविडका कारण स्थगित गर्नु परे पनि आगामी वर्षदेखि समयमै कक्षा १२ सम्मको पठनपाठन व्यवस्थापन, शिक्षा र विज्ञानमध्ये दुई शंकायमा अध्यापन थाल्ने निर्णय साधारणसभाले गरेको अध्यक्ष राईले बताएका छन् ।