भन्सार छलेर ल्याएको सुर्ती र खैनीसहित एक पक्राउ

२0७७ माघ २३ शुक्रबार
भन्सार छलेर ल्याएको सुर्ती र खैनीसहित एक पक्राउ

उदयपुर

भन्सार छलेर ल्याउँदै गरेको खैनी र सुर्तिसहित अटो र अटो चालक प्रहरी नियन्त्रणमा परेका छन् । त्रियुगा बसपार्कबाट खटेको प्रहरी टोलीले शुक्रबार विहान ९ः३० बजे त्रियुगा नगरपालिका ६ जलजलेदेखि गाईघाटतर्फ आउँदै गरेको अटो रिक्सासहित त्यसमा रहेको सुर्ती, खैनी र चालकलाई पक्रेको हो ।


गाईघाटतर्फ आउँदै गरेको स १ ह ३०३४ नं. को अटो रिक्सामा चेकजाँच गर्दा एनपी ०१ ब्राण्डको ४९ प्याकेट राजनिवास मसला सुर्ती र कविर एक्सप्रेस ब्राण्डको २५ थान खैनी बरामद भएको प्रहरीले जनाएको छ । चालक त्रियुगा नगरपालिका ६ जलजलेका बिहारी साहका छोरा २० वर्षीय शंकर साहले सामानको भन्सार तिरेको प्रमाण दिन नसकेपछि सुर्ती, खैनी र अटोसहित नियन्त्रणमा लिनु परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


कागजपत्र नभएकाले राजश्व छली गरेर ल्याएको हुनसक्ने ठहरसहित चालक र सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि करदाता सेवा कार्यालय गाईघाट पठाइएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । 


भारतीय नाका बजारबाट भन्सार छलेर ल्याएको ती सामग्री २ नं. प्रदेशको सिराहा तथा सप्तरी हुँदै ल्याएको हुनसक्ने अनुमान गरिएको छ । जिल्ला भित्रिने अवैध र राजश्व छलीका सामान नियन्त्रण गर्ने अभियान केही समययता प्रहरीले जिल्लाभरी थालेको छ । जस अनुसार जिल्ला भित्रिने हरेक सवारी साधनमा राम्ररी चेकजाँच गरेर मात्र जिल्ला भित्रिन दिने निर्देशन दिइएको छ ।