आम हड्तालले उदयपुर ठप्प

२0७७ माघ २२ बिहीबार
आम हड्तालले उदयपुर ठप्प

गाईघाट

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले कानुनविपरित संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गरेको विरोधमा प्रचण्ड–माधव (प्रमा) समूहको नेकपाले आव्हान गरेको आम हड्तालले उदयपुर ठप्प भएको छ । बन्दका कारण सदरमुकाम गाईघाट, कटारी, बेलटार र रामपुरका बजार, पसल, स्कुल क्याम्पसहरु सबै बन्द भएका छन् भने लामो तथा छोटो दूरीका यातायात ठप्प भएका छन् ।

 


आम हड्ताल सफल पार्न प्रमा समूहका नेता कार्यकर्ता तथा भातृ भगिनी संगठनमा आबद्ध कार्यकर्ता बजारका बिभिन्न चोक र सडकमा परिचालन भएका छन् । ठूला साना गाडी कतै नचले पनि प्रेस, एम्बुलेन्स, अस्पताल र बिहेका गाडी निर्वाध खुला छाडिएका छन् । मोटरसाईकल फाटफुट चलेका छन् भने विहान फाटफुट चलेका तीनपाङ्ग्रे अटो केही रिक्साका चावी खोसेपछि मध्यान्हदेखि ती पनि पूर्णरुपमा बन्द भएका छन् । बन्दले गर्दा कर्मचारी र आवश्यक काम परेका सर्वसाधारण साईकल र पैदलयात्रामा निस्केका छन् ।


गाईघाटजसतै पश्चिमी व्यापारिक केन्दै कटारी बजार, चौदण्डीगढी मुकाम बेलटार तथा बेलका मुकाम रामपुर बजार पनि पूर्णत बन्द रहेको स्थानीयले बताएका छन् । दिनरात सयौंको संख्यामा चल्ने लामो तथा छोटो दूरीका सवारी साधनहरु धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा खण्डको मदन भण्डारी लोकमार्गको सडक आज विहानैदेखि सुनसान छ । 

 


सुनसरी र उदयपुरको सीमा बेलका नरपालिका ८ को चतारा, रामपुर बजार हुँदै चौदण्डीगढीको बेलटार, सदरमुकाम गाईघाट, उदयपुरगढीको नेपालटार, कटारी हुँदै सिन्धुली छिचोल्ने कालोपत्रे सडकमा बन्दको प्रभाव परेपछि विहानैदेखि सारी साधन चलेका छैनन् ।


बन्द हड्तालका बेला अशान्ति हुने जोखिमबाट सतर्क रहँदै प्रशासनले बजार चोक र सडकमा सशस्त्र र नेपाल प्रहरीलाई परिचालन गरेको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बन्द हड्तालको अवसरमा हिंसात्मक गतिबिधि हुन नदिन सुरक्षाकर्मी परिचालन गरी सबैतिर सतर्कता अपनाइएको बताए । 

 


मध्यान्हसम्म जिल्लाका कतै पनि अशान्तिका घट्ना नघटेको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए । बन्दका बेला तोडफोड र ंिहंसा नहोस् भनेर बन्दकर्ता र यातायात व्यवसायी दुवैलाई संयमित हुन आग्रह गरेको र प्रहरीले कतै हस्तक्षेप गर्नु नपरेको दाहालले बताए ।