भूमि व्यवस्थापन आयोगमा खत्री, चौधरी र राई

२0७७ माघ २0 मंगलवार
भूमि व्यवस्थापन आयोगमा खत्री, चौधरी र राई

उदयपुर

भूमि व्यवस्थापन आयोग उदयपुरको अध्यक्षमा गोपाल खत्री नियुक्त भएका छन् । सत्तारुढ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अघोषित विभाजन भएकै बेला जिल्लाको उदयपुरगढी गाउँपालिका ६ नेपालटारका स्थायी बासिन्दा खत्रीलाई सरकारले आयोगको अध्यक्षमा नियुक्त गरेको हो । 


आयोगको विज्ञ र सदस्यमा क्रमशः दुर्गानन्द चौधरी र कान्ता राई नियुक्त भएका छन् । चौधरी त्रियुगा नगरपालिका १३ गाईघाटका हुन् भने राई चौदण्डीगढी नगरपालिका ६ बेलटारकी हुन् । उदयपुरसँगै देशभरका आयोगले समिति पाउँदा प्रदेश १ का १४ वटै जिल्लामा समिति गठन भएको छ । 

 

  


नेपाल सरकारले अघिल्लो साँझ प्रकाशित गरेको राजपत्रको सूचना अनुसार खोटाङमा अध्यक्ष हरिकुमार पोखरेल, विज्ञ खेमराज राई र सदस्य दिलकुमारी राई नियुक्त भएका छन् । पोखरेल रावावेंसी गाउँपालिका २, राई लामीडाँडा ३ का हुन् भने सदस्य राई साकेला २ की हुन् । 


त्यस्तै सोलुखुम्बु आयोगको अध्यक्षमा रामकाजी श्रेष्ठ नियुक्त भएका छन् । सोलुदुधकुण्ड नगरपालिका ६ का श्रेष्ठ अध्यक्ष हुँदा लिखुपके गाउँपालिका ४ का कुन्जाङ शेर्पा विज्ञ र सोलुदुधकुण्ड ११ का मोहनकुमारी कार्की सदस्य नियुक्त भएकी छिन् । भोजपुरको अध्यक्षमा खडानन्द नगरपालिका ११ का देवीराज चौलागाई, विज्ञ हतुवागढी गाउँपालिका ३ का इश्वरमान राई र सदस्य ठूलोगुम्बा ९ का केशवबहादुर राई नियुक्त भएको सूचनामा उल्लेख छ । 


उता ओखलढुंगामा अध्यक्ष ठूलाछाप ३ का शंकरबहादुर कटुवाल नियुक्त हुँदा विज्ञमा रावाखेत २ का विजयकुमार बस्नेत र सदस्यमा सिंहदेवी ७ का रामकुमार अछामी मगर नियुक्त भएका छन् । मोरङको अध्यक्षमा बेलबारी ३ का दिलप्रसाद राई, विज्ञ कानेपोखरीका नविन पौडेल र सदस्य तोपगाछी ९ का मोहन तुम्बोपा नियुक्त भएका छन् । 


त्यसैगरी पाँचथरमा अध्यक्ष फाल्गुनानन्दका करुणा राई, विज्ञ कुम्याक ४ का जयप्रसाद जेरुङ र सदस्यमा थर्पु ७ का देवीपसाद कोईराला नियुक्त हुँदा ताप्लेजुङ अध्यक्षमा आठराई त्रिबेणी गाउँपालिका ३ का लक्ष्मीबहादुर याम्फु, विज्ञ सिरिजङ्गा ४ का प्रकाश इङनाम तथा सदस्यमा कमल गुरागाई नियुक्त भएका छन् । 


धनकुटा अध्यक्षमा धनकुटा नरपालिका ७ का नैनबहादुर विश्वकर्मा, विज्ञ धनपा ६ का सावित्रा राई र सदस्यमा महालक्ष्मी नगरपालिका ४ का दीपक बुढाथोकी नियुक्त भएका छन् । तेरथुमको अध्यक्षमा म्याङलुङ नगरपालिका १ का बिनोदचन्द्र दुलाल, विज्ञमा आठराईका रामचन्द्र थपलिया र सदस्यमा धर्मराज खुलाल नियुक्त भएका छन् भने संखुवासभामा चैनपुर नगरपालिका १२ का वीरेन्द्र केसी अध्यक्ष, मावा ४ की देवकुमारी रिखाम विज्ञ र माङविसे २ का बिपिन तामाङ सदस्य भएका छन् । 


इलामको अध्यक्षमा बाँझो ९ का ओमनारायण खनाल तथा विज्ञ र सदस्यमा क्रमशः इलाम नपा ६ का प्रकाश अधिकारी र माङसेबुङ ६ का हेमन्त राई रहेका छन् । झापा र सुनसरीका अध्यक्षमा क्रमशः अर्जुनधारा नगरपालिका ३ का प्रेमबहादुर गिरी र इनरुवा नगरपालिका ९ का खेमराज पोखरेल नियुक्त भएका छन् । 


झापामा विज्ञ शिवसताछीका राधाकृष्ण खनाल र सदस्य मदनप्रसाद अधिकारी नियुक्त हुँदा सुनसरीमा विज्ञ र सदस्यमा क्रमशः इटहरी उपमहानगर २० का सूर्यकुमार राई र बराहक्षेत्र नपा ८ का बद्रीलाल घिमिरे  भएका छन् ।