डेढवर्षमा ७६ फरार पक्राउ, ५५ वर्ष कैद र ७ लाख बक्यौता उठ्यो

२0७७ माघ १९ सोमबार
डेढवर्षमा ७६ फरार पक्राउ, ५५ वर्ष कैद र ७ लाख बक्यौता उठ्यो

उदयपुर


पछिल्लो समय उदयपुरमा फरार अभियुक्तहरु धमाधम पक्राउ पर्दै आएका छन् । बिभिन्न आपराधिक गतिबिधिमा संलग्न भएर अदालतबाट वर्षौंअघि दोषी करार भए पनि फरार रहदै आएका अभियुक्तहरु डेढवर्षमा ७६ जना पक्राउ परेको प्रहरीले जनाएको छ । 


अदालतबाट दोषी प्रमाणित भई बिगो जरिवाना र कैद सजाय तोकिए पनि भाग्दै आएकालाई  खोजी गर्दै नियन्त्रणमा लिएर फैसला कार्यान्वयन गर्न प्रहरीले सहयोग गरिरहेको हो । केहीवर्षअघि सरकारले  सवोच्च अदालत र प्रहरीसँगको समन्वयमा फरार अभियुक्तहरु पक्राउ गरी उनीहरुबाट बक्यौता कैद र जरिवाना असुलउपर गर्ने नीति लिएपछि प्रहरीले फरारको खोजी थालेको थियो । सोही क्रममा प्रहरीले उनीहरुको खोजी गर्दै पक्राउ गरी अदालतको जिममा लगाउने गरेको हो । 


जिल्ला प्रहरी कार्यालयले गएको डेढवर्षमा ७६ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयन गर्न अदालतलाई जिम्मा दिइको जनाएको छ । जस अनुसार आर्थिकवर्ष ०७६÷७७ मा ५९ जना फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरुबाट अदालतले तोकेको २५ वर्ष ४ महिना ७ दिन कैद र २ लाख ९१ हजार ९ सय ६० रुपैंया ४९ पैसा जरिवाना भुक्तानी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । 


गौतमका अनुसार चालु आर्थिकवर्ष साउनदेखि पुससम्म १७ जना फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरुबाट २९ वर्ष ६ महिना १ दिन कैद सजायसँगै ३ लाख ८२ हजार ६ सय ७२ रुपैंया बक्यौता जरिवाना भुक्तान भएको छ ।सबभन्दा बढी अपराधमा फरारहरु वन मुद्धाका पाइएको प्रहरी तथ्यांकले देखाएको छ । 


आव ०७६÷७७ मा मात्र वन मुद्धाका २५ फरार अभियुक्त पक्राउ परेका छन् भने चालु वर्ष १ जना पक्राउ परेका छन् । त्यस्तै लागुऔषध अपराधमा संलग्न भईर फरार ७ जना, जवरजस्ती करणीमा ६ र जुवा अभियोगमा ६ अभियुक्त पक्राउ परेका छन् । चोरी अभियुक्त ५ र ज्यान मार्ने अभियोगमा ४ जना पक्राउ पर्दा बाँकी फरार अभियुक्तहरु केही सार्वजनिक अपराध, जालसाजी, ठगी, सार्वजनिक अपराध, कुटपिटलगायत मुद्धाका पक्राउ परेको प्रहरी तथ्यांकले देखाएको छ । 


प्रहरीले वर्षाँैंअघि बिभिन्न अपराधमा संलगन भएर अदालतबाट विगो जरिवाना र कैद सजायको फैसला भए पनि सम्पर्कमा नआई फरार रहेका अभिुक्तलाई लुकेर बसेको अवस्थामा पक्राउ गर्दै आएको छ । प्रहरीले एकाधबाहेक प्रायः घरमै लुकेर बसेको अवस्थामा सुराकीका आधारमा फरारहरुलाई पक्राउ गर्ने गरेको जनाएको छ । 


जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले विगत ३ दशकअघिसम्मका फरार अभियुक्तहरु पक्राउ पर्ने गरेको बताए । ०४८ साल भदौ १८ गते अदालतले दोषी करार गरे पनि फरार रहेका अभियुक्तसमेत भर्खर पक्राउ परेको एसपी दाहालले बताए । 


वर्षौंदेखि आपराधिक गतिबिधिमा संलग्न भई अदालतबाट सजायको फैसला हुने गरे पनि हजारौं फरार सूचीमा रहेको र करोडौ जरिवाना रकम र हजारौं वर्ष कैद सजाय बक्यौता देखिएपछि केहीवर्षअघि गृह र कानुन मन्त्रालयले बक्यौता असुलउपर गर्ने नीति लिएको थियो । सोही अनुसार फरारको खोजी गरी पक्राउ गर्न सर्वाेच्च अदालतमार्फत जिल्ला अदालत, प्रशासन र प्रहरीमा निर्देशन आएको थियो ।


जस अनुसार फरार अभियुक्तहरुको पुरानो फाईल पल्टाएर खोजी कार्य प्रहरीले थालेपछि पक्राउ पर्ने क्रम जारी रहेको छ । फरारलाई पक्राउ गरेलगत्तै प्रहरीले कैद र विगो असुलउपर गर्न गराउन अदालतमा बुझाउने गरेको एसपी दाहालले बताए । प्रहरीले फरार अभियुक्तको खोजी गर्ने क्रम तिब्र पारेपछि पक्राउ पर्ने तथा बक्यौता बिगो र कैद भुक्तानी भईरहेको छ । 


जिल्ला अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले पछिल्लो दुई आर्थिकवर्ष उत्साहजनक रुपमा प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्दै अदालतमा बुझाउँदै आएको बताए । यसबाट अदालतको बक्यौता फस्र्यौट हुनुका साथै समाजमा आपराधिक गतिबिधि कम हुन सहयोग पुगेको कार्कीले बताए । 


अदालतका सूचना अधिकारी तथा तहसिलदार राजकुमार आचार्यले पछिल्लो समय प्रायः दिनहुँजसो फरार अभिुक्त पक्राउ गरेर प्रहरीले सजाय भुक्तानका लागि अदालत पठाउने गरेको बताए । पक्राउ  अभियुक्तलाई अदालतमा बुझाएलगत्तै तोकिएको जरिवाना बिगो रकम असुलउपर गरी कैद भुक्तानका लागि कारागार चलान गर्ने गरेको पनि आचार्यले बताए । 

क्याप्सनः जिल्ला अदालत उदयपुर । तस्विरः महेश्वर