प्रतिगमनविरुद्ध प्रमा समुहको विशाल सभा, 'ओली पट्याँस जस्तै' 

२0७७ माघ १६ शुक्रबार
प्रतिगमनविरुद्ध प्रमा समुहको विशाल सभा, 'ओली पट्याँस जस्तै' 

विराटनगर

प्रचण्ड-माधव (प्रमा) समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले परिवार र छोराछोरीलाई मात्र हेरेको भनेर लगाएको आरोपको खण्डन गरेका छन् । संसद विघटनविरुद्ध शुक्रबार विराटनगरमा आयोजित विरोधसभामा बोल्दै प्रचण्डले आफुलाई छोरी, बुहारी, ज्वाई र आफन्तलाई मात्र हेर्यो भन्दै ओलीले पटक पटक अपमानित गर्ने गरेको भन्दै निसन्तान नहुनुमा आफ्नो दोष नभएको बताए । 


अरु नेताहरुजस्तो आफुले छोराछोरीलाई अमेरिका, बेलायत पढ्न नपठाएको भन्दै प्रचण्डले जनयुद्धकालमा आफैंसँग राखेर जंगलमा बन्दुक बोक्न सँगै लिएर हिडेको बताए । प्रचण्डले आफ्ना छोराछोरीलाई विशेषाधिकार नदिएको, गणतन्त्रको लडाइँ लड्दा छोरीहरु रोल्पाको जंगलमा बन्दुक बोकेर युद्धमा रहेको भन्दै यसो गर्नु पनि आफ्नो दोष नभएको जिकिर गरे ।

 

प्रधानमन्त्री ओलीले धर्म पुत्रपुत्रीलाई पटक पटक अवसर र सुविधा कोच्ने गरेको भन्दै प्रचण्डले आफ्ना हनुमानहरुलाई छोराछोरी भन्दै पोस्ने गरेको बताए । उनले ७० करोड भ्रष्टाचार गर्नेलाई गरेको छैन भनेर फैसला गर्दै हिँड्नु र देश कोरोनामय हुँदा औषधि किन्ने नाममा भ्रष्टाचार गर्नु कुन चाही सुशासन हो भनेर प्रश्न गरे । 


सभामा अर्का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगको फैसलाले नवतानाशाह बन्ने कोशिसमा रहेका केपी ओलीको सिङ जुरो फुकालिएको भन्दै अव उनको धेरै दिन बाँकी नरहेको बताए । निर्वाचन आयोगको फैसलाले ओलीबाट मनोनित केन्द्रीय सदस्यहरु अवैधानिक प्रमाणित भईसकेको भन्दै उनले ओली लडाईमा हारिसके पनि खुट्टा उचालेर मेरो खुट्टा माथि छ भन्दै हार नस्वीकारेको बताए । 


केन्द्रीय समितिका ४४१ सदस्यमध्ये ३ सय आफुहरुसँग भएको पार्टी नै मूल पार्टी हुने भन्दै सूर्य चिन्ह पनि आफुहरुकै नेकपाले पाउने उनको दावी थियो ।  प्रचण्ड, झलनाथ खनाल र आफुलगायत बहुमत केन्द्रीय सदस्य भएको पार्टी नै मुलधारको पार्टी हुने बताउँदै उनले ओलीसँग भएका जम्माजम्मी सय जना पनि कहाँ आएर फसियो भन्दै पछुताइरहेको बताए । 

 

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदको दुरुपयोग गर्दै संविधान मिचेर देशलाई अस्थीरता र अराजनीतिक अवस्थातर्फ धकेलेको उनको आरोप थियो । 


पार्टीका पूर्व अध्यक्ष तथा वरिष्ट नेता झलनाथ खनालले ओलीलाई कुलंघार र भस्मासुरको संज्ञा दिदै बेलाबेलामा जन्मने यस्ता भस्मासुरबाट पार्टी बचाउनु सबैको कर्तव्य रहेको बताए । बाँस छिप्पिदै गएपछि पट्याँस झर्ने, रुख छिप्पिएपछि बोक्रा झरेजस्तै ओलीहरु पट्याँस र बोक्रा झरे झैं झर्न थालेको बताए । १ नं. प्रदेश अध्यक्ष घनेन्द्र बस्नेतको अध्यक्षता र सचिव सुरेशकुमार राई (हिमाल)ले सञ्चालन गरेको कार्यक्रममा युवा नेता योगेश भट्टराई, प्रदेश इन्चार्ज भीम आचार्यलगायतले पनि बोलेका थिए ।