यायोक्खाका संस्थापक अध्यक्ष रहेनन्

२0७७ माघ १४ बुधबार
यायोक्खाका संस्थापक अध्यक्ष रहेनन्

बेलटार


किरात राई यायोक्खा उदयपुरका संंस्थापक अध्यक्ष कृष्ण चामलिङको निधन भएको छ । चौदण्डीगढी नगरपालिका ६ बेलटार चामलिङ चोकका स्थायी बासिन्दा ७३ वर्षीय राईको गंगालाल हृदय रोग केन्द्र काठमाडौंमा बुधबार विहान निधन भएको हो । 


पूर्व बेलायती सेनिक राई सेवानिबृत्त भएदेखि नै बिभिन्न सामाजिक सेवामा समर्पित रहँदै आएका थिए । केही समययता मुटुरोगबाट पीडित राईको भर्खरै मुटुको सल्यक्रिया (अपरेसन) गरिएको थियो । अप्रेसनपछि उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 


समाज सेवाप्रति हुरुक्क हुने उनी लामो समयदेखि सामाजिक गतिबिधिमा संलग्न हुँदै आएका थिए । बौद्धिक किराती अगुवाको रुपमा परिचित चामलिङ आप्mनो समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको विकास र प्रबद्र्धनमा लामो र अतुलनीय योगदान दिदै आएको यायोक्खा उदयपुरका अध्यक्ष बलधन राईले बताए । त्यस अलावा गाउँ समाजको विकास र चेतना विस्तारमा उनले उत्तिकै योगदान गर्दै आएको स्थानीय बताउँछन् । 


यायोक्खा अध्यक्ष राईका अनुसार चामलिङले बेलटारस्थित ज्योति माध्यमिक विद्यालयमा गत ०६७ सालमै ५० हजार रुपयाँको शैक्षिक अक्षय कोष स्थापना गरे शिक्षा क्षेत्रमा योगदान दिएका थिए । सो अक्षयकोषबाट प्राप्त व्याजबाट वर्षेनी एसएलसी प्रथम हुने छात्र, छात्रालाई पुरस्कार दिने व्यवस्था  निरन्तर चलिरहेको विद्यालयले जनाएको छ । 


चामलिङको पार्थिव शरिर बुधबार साँझै बेलटार ल्याईसकिएको छ । शुक्रबार किरात परम्परा अनुसार उनको अन्तिम संस्कार गर्ने तयारी भईरहेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै चौदण्डगढी नगरप्रमुख खगेन्द्र राईले बताएका छन् ।