उदयपुरमा कोविड खोप दिन सुरु 

२0७७ माघ १४ बुधबार
उदयपुरमा कोविड खोप दिन सुरु 

गाईघाट

कोरोना भाईरस (कोविड१९) विरुद्धको खोप दिन उदयपुरमा सुरु भएको छ । बुधबार उदयपुर जिल्ला अस्पताल गाईघाटमा आयोजित एक कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदी र जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डललाई खोप दिएर अभियानको सुरुवात गरिएको हो । 


अस्पतालकी सिनियर अनमी टिकामाया श्रेष्ठले स्वास्थ्य कार्यालयका कर्मचारी, अस्पतालका डाक्टर र सफाईकर्मी तथा एम्बुलेन्स चालकलाई खोप लगाईदिइएकी थिईन् । जनस्वास्थ्य अधिकृत मोहन सुबेदीका अनुसार पहिलो दिन अस्पतालका मेसु डा. मण्डलगायत डा.हरु, अन्य स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालयका कर्मचारीलगायत ३३ जनााई खोप लगाइएको छ । 


छिमेकी मुलुक भारतले अनुदानमा दिएको खोप नेपाल ल्याएर प्रदेश सरकारमार्फत सदरमुकाम ल्याएर दिन थालिएको हो । पहिलो चरणमा कोरोनाविरुद्ध अग्रभागमा रहेर खट्ने सरकारी तथा नीजि अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी र सरसफाईकर्मीलाई दिइने मापदण्ड बनाइएको छ । 


सुवेदीले खोपबारे बिभिन्न नकारात्मक प्रचार प्रशार र भ्रम सिर्जना भइरहेको भन्दै कुनै भ्रममा नपरुन् भनेर सुरुमा आफैले खोप लिएको बताए । उनले यो खोप पहिल्यै भारतमा परीक्षण भईसकेको र सफल भएको पाइएकाले निर्धक्क भएर खोप लगाउन आग्रह पनि गरे । 


अमेरिकाको अक्सफोर्ड युनिभर्सिटीको खोज अनुसन्धान अनुसार भारतमा उत्पादित खोप नेपालमा ल्याइएको र उदयपुरलाई २ हजार ५ सय खोप उपलब्ध गराएइको छ । यसबाट उदयपुरमा १ हजार २ सयलाई दिन पुग्ने स्वास्थ्य प्रमुख सुवेदीले बताएका छन् । १ व्यक्तिलाई २ डोज लगाउनु पर्ने खोप पहिलो पटक लगाएको महिनादिनपछि अर्को डोज लगाउनु पर्ने छ । सुत्केरी, गर्भवती र १८ वर्षमुनिकालाई भने यो खोप लगाउन नमिल्ने बताइएको छ । 
 

त्यसैगरी खोप लगाएको आधा घण्टासम्म चिकित्सकको निगरानीमा बस्नुपर्ने भएकाले रेस्पोन्स टीमा सँगै रहने व्यवस्था मिलाइएको छ । आउँदो शुक्रबारदेखि चौदण्डीगढी नगरपालिका हुदै सातादिनसम्ममा सबै नगर तथा गाउँपालिकामा खोप लगाइसक्ने योजना बनाइएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोविड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुरका अध्यक्ष चक्रपाणी पाण्डेले बताए ।