प्रतिगमनविरुद्ध नेकपाले कटारीमा कालोझण्डा र व्यानर राख्ने

२0७७ माघ १४ बुधबार
प्रतिगमनविरुद्ध नेकपाले कटारीमा कालोझण्डा र व्यानर राख्ने

कटारी

प्रचण्ड-माधव समूहको नेकपा कटारीले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमविरुद्ध नगरभरी कालो झण्डा र व्यानर राख्ने निर्णय गरेको छ । पार्टीको मंगलबार सम्पन्न नगर बैठकले असंवैधानिक प्रतिनिधिसभा विघटनमार्फत देशलाई प्रतिगमनतर्फ धकेलेको विरोधमा नगरपालिकाका १४ वटै वडा कार्यालयमा कालो झण्डा र व्यानर राख्ने निर्णय गरेको नगर कमिटी अध्यक्ष मणिराज दाहालले बताए । 


प्रतिगामी नसच्याएसम्म सशक्त आन्दोलन जारी राख्ने पार्टी नीति अनुसार नेकपा कटारी नगरपालिकाका १४ वटै वडामा प्रतिगमनविरुद्ध कालो झण्डा र व्यानर राख्ने, माघभित्र बाँकी वडा कमिटीको शपथ ग्रहण गराईसक्ने निर्णय पनि भएको अध्यक्ष दाहालले बताए । नेकपा प्र-मा समूहले प्रतिनिधिसभा विघटनको ओली कदमविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गर्दै सिटी जुलसबाट सुरुवात गरेको छ । आन्दोलनको तालिका अनुसार आउँदो माघ १६ गते सहिद दिवसका दिन विराटनगरमा विशाल जनप्रदर्शन गर्ने तयारी गरेको र त्यसलाई सफल बनाउने निर्णय कटारी नगर कमिटीले गरेको छ । 

 

बैठकमा प्रमुख अतिथि नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल (दिवश)ले प्रतिगमनविरुद्ध पार्टी केन्द्र, प्रदेश र जिल्लाका कार्यक्रमहरु कार्यान्वय गर्न सबै मातहत कमिटीहरुलाई निर्देशन दिएको बताए । प्रदेश १ कमिटी सदस्य भेषकुमारी राउत (कोपिला)ले प्रतिगमनविरुद्ध पार्टीले घोषणा गरेको आन्दोलनलाई सशक्त रुपमा सफल बनाउन नेकपा कटारी नगर कमिटीलाई बैठकमा आग्रह गरेको बताइएको छ ।

 

प्रदेश १ कमिटीका आयोजनामा हुने जनप्रदर्शन तथा आमसभालाई पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।