कोरोना खोप उदयपुरलाई १,२३७ भायल, मंगलबार आईपुग्ने

२0७७ माघ १२ सोमबार
कोरोना खोप उदयपुरलाई १,२३७ भायल, मंगलबार आईपुग्ने

गाईघाट 

छिमेकी मुलुक भारतले उपलब्ध गराएको कोरोना भाईरस (कोविड-१९)विरुद्धको खोप प्रदेश कार्यालय विराटनगर आईपुगेको छ । कोविड-१९ खोप प्रदेशका १४ वटै जिल्लामा बाँड्ने गरी सोमबार आईपुगेको प्रदेश १ स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ । 


केन्द्रका प्रशाासकीय अधिकृत काशीराज पराजुलीका अनुसार विराटनगरमा आएको खोप प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का सिरहा र सप्तरीका लागि आएको हो । जम्मा ९ हजार ६ सय भायल खोप आइपुगेको पराजुलीले बताएका छन् ।  


खोप आईपुगेपछि प्रदेशभरका १४ वटै जिल्लामा पठाउने तयारी भईरहेको छ । पहिलो चरणमा प्रदेशभरका सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका र ७ सय २५ सरसफाइ कर्मचारीलाई पनि गरी ३५ हजार ५ सय ७६ जनालाई खोप लगाइने छ। 


प्रदेश कार्यालयबाट सुनसरी र मोरङले सोमबारै खोप बुझिसकेका छन् भने  अन्य जिल्लामा मंगलबार पठाउने तयारी भईरहेको प्रशासकीय अधिकृत पराजुलीले बताए ।

 

उनका अनुसार ताप्लेजुङलाई १४ हजार ३, धनकुटालाई ८ सय ३१, उदयपुरलाई १ हजार २ सय ३७, भोजपुरलाई १ हजार १ सय ७६ जनाले खोपदिइने छ । त्यस्तै मोरङका १२ हजार ५६, इलामका १ हजार ६ सय ९०, ओखलढुंगाका १ हजार ३ सय ६६, खोटाङका १ हजार ६ सय, झापाका ४ हजार ९ सय ७७, तेह्रथुमका ७ सय २३, संखुवासभाका ९ सय ४९, सोलुका ६ सय ८६, सुनसरीका ५ हजार २ सय ३३ र पाँचथरमा ९ सय २४ जना सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले खोप लगाउन पाउनेछन् । 


उदयपुर जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार खोप आईपुग्ने जनाएको छ । जनस्वास्थ्य अधिकृत मोहन सुबेदीले खोप आएलगत्तै कार्यक्रम गरेर उद्घाटन गर्ने बताए । मंगलबार जिल्ला कोविड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठक राख्ने तय भएको र संभवतः बुधबार औपचारिक कार्यक्रम गरी खोपको उद्घाटन गर्न बैठकले निर्णय गर्ने सुबेदीले बताएका छन् ।