बलात्कारपछि युवतिलाई छतबाट खसालेर भाग्ने डेढवर्षपछि पक्राउ

२0७७ माघ ८ बिहीबार
बलात्कारपछि युवतिलाई छतबाट खसालेर भाग्ने डेढवर्षपछि पक्राउ

उदयपुर
    

दुई साथी मिलेर एक युवतिलाई नशालु पदार्थले लठ्याएर बलात्कार गरेपछि हत्या प्रयास गरी भागेकामध्ये एकजना डेढवर्षपछि प्रहरी नियन्त्रणमा परेका छन् । ०७६ साउन १७ गते बेलका नगरपालिका ४ गुरुङचौरी मावि परिसरमा दुई युवा मिलेर १८ वर्षीया युवतिलाई बलात्कार गरी घरको छतबाट खसाएर भागेकामध्ये सोही ठाउँका गुणराज विष्ट पक्राउ परेका हुन् । 

 

गाउँमा गुणे, टोले, गोविन्दे भन्ने बिभिन्न नाम भएका २२ वर्षीय विष्टलाई काठमाडौं मनमैजुबाट अघिल्लो दिन प्रहरीले नियन्त्रणमा लिएको हो । युवतिलाई बलात्कार गरिसकेपछि हत्याको आसयले छतबाट खसाएर भागेका उनीहरुको खोजी गर्ने क्रममा विष्ट पक्राउ परे पनि अर्काको खोजी भईरहेको छ ।

 

उनीहरुले युवतिलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको घटना बाहिर आउने डरले दुवै मिलेर छतबाट खसालेर दुवै भागेका थिए । छतबाट खसालिएकी युवति कम्मर मुनिको भाग नचलेर अपांगता भएकी छिन् । उनको अहिले पनि उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईते युवतिको उपचार गराउँदै अभियुक्तको खोजी गर्ने क्रममा विष्ट पक्राउ परेको तर, अर्का युवक अझै फरार रहेकाले खोजी भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताए । 

 

विष्टलाई प्रहरी हिरासतमा थुनामा राखेर थप अनुसन्धान सुरु भएको जनाइऐको छ । उनीमाथि जवरजस्ती करणी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।