त्रियुगा १२ को वडाध्यक्ष कप उपाधि चौदण्डीको युनाईटेडको कब्जामा

२0७७ माघ ६ मंगलवार
त्रियुगा १२ को वडाध्यक्ष कप उपाधि चौदण्डीको युनाईटेडको कब्जामा

माघीको अवसरमा आयोजित त्रियुगा नगरपालिका १२ को दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि चौदण्डीगढी नगरपालिका ४ बेल्टारस्थित युनाइटेड युथ क्लबले चुमेको छ । वडा नं. १२ को विसनपुरस्थित खेलमैदानमा मंगलबार सम्पन्न फाईनल खेलमा युनाइटेडले  आयोजक त्रिनपा १२ लाई ३–० गोलले पराजित गर्दै उपाधि चुमेको हो ।


गत माघ १ गतेदेखि सुरु प्रतियोगिताको फाईनल दिउँसा ३ः०० बजे भएको हो । प्रतियोगितामा युनाइटेडका शरद राईले १ गोल र दिप्सन राउतले २ गोल गरेर उपाधि हात पारेको १२ नं. वडा युवा तथा खेलकुद विकास समिति संयोजक विशाल राईले बताए ।


त्रिनपा नगरप्रमुख बलदेव चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न समापन समारोहमा विजेता टिमलाई ३० हजार र उपविजेतालाई २० हजार नगद पुरस्कार ट्रफि र प्रमाणप्रत्र वितरण गरियो । विजेता तथा उपविजेता समूहलाई मेयर चौधरी र वडाध्यक्ष जयविक्रम राईले ट्रफि र प्रमाणपत्र प्रदान गरे । 


कार्यक्रमममा पुरस्कार वितरण गर्दै मेयर चौधरीले वडा नं. १२ को विसनरलाई नगरपालिकाकै उत्कृष्ट वडा बनाउने योजना रहेको बताउँदै विसनपुरको खेलमैदानलाई नगरपालिकाको दोस्रो खेलमैदान बनाउने प्रतिबद्धता व्यक्त गरे । 


पुरस्कार वितरण समारोहमा १२ नं. वडाध्यक्ष राईले युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्दै बिभिन्न खेलकुद गतिबिधि गर्दै आएको र आगामी दिनमा पनि जारी राख्ने बताए । उनले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ युवा तथा खेलकुद विकास समितिमार्फत प्रतियोगिता आयोजना गरेको बताए ।