खैरो हिरोईनसहित ८ पक्राउ 

२0७७ माघ ६ मंगलवार
खैरो हिरोईनसहित ८ पक्राउ 

उदयपुर

पछिल्लो समय महँगो खालको प्रतिबन्धित लागुऔषध लागुऔषध खैरो हिरोईन (ब्राउन सुगर)सहित दिनहुँजसो अपराधी पक्राउ पर्न थालेका छन् । यसै क्रममा झापा र मोरङका विभिन्न स्थानबाट  खैरोहिरोईन र लागुऔषध ट्याब्लेटसहित ८ जना पक्राउ परेका छन । 


मोरङको रतुवामाई नगरपालिका ४ आमबारीबाट सोमबार अपरान्ह साढे ४ बजे २ जनालाई खैरोहिरोईनसहित पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रतुवामाई(२ झुर्कियाका ४२ वर्षीय मोहम्मद रफिक मिया र भारत अररिया जिल्ला कुचहा धाताका २२ वर्षीय मोहम्मद नवाब आलम रहेका छन् । 


भारतीय नम्बर प्लेट बीआर ३७ यु ५८२३ नं. को. कारमा सवार दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा १ सय २६ ग्राम १४ मिलिग्राम खैरोहिरोईन फेला पारी बरामद गरिएको छ । 


त्यसैगरी झापाको मेचीनगर नगरपालिका(६ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । सोमवार बेलुका ६ बजे धरान उपमहानगरपालिका १७ का २४ वर्षीय ईश्वर थापा र पाँचथर हिलिहाङ गाउँपालिका २ का २८ वर्षीय अरुण सुब्बालाई ५० ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको हो । 


उनीहरुमाथि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटेको अर्को टोलीले दमक नगरपालिका ३ का २० वर्षीय समिर तामाङ र २२ वर्षीय नविन लिम्बुलाई १ ग्राम ६ सय मिलिग्राम ब्राउनसुगरसहित सोमवार अपरान्ह ५ बजे बेलडागीबाट पक्राउ गरेको छ । 


त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटेको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका ४ का २२ वर्षीय प्रवेश माझीलाई ६ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जनाएको छ। विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले सोमवार दिउँसो माझीलाई किरात चोकबाट पक्राउ गरेको हो । उता इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटेकै प्रहरी टोलीले दमक नगरपालिका ५ का १५ वर्षीय रमेश राजवंशीलाई लागुऔषध लुपिजेसिक ३० सिसि, डाईजोपिन ३० सिसि र प्रोमोथाईजिन ३० सिसि गरी ९० सिसिसहित मेचीनगर नगरपालिका ६ बाट पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका आठै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ प्रदेश प्रहरी सूचना अधिकारी डिएसपी विपिन रेग्मीले बताएका छन् ।