उदयपुरकी चेली फेसबुक 'हेडक्वाटर'मा

२0७७ माघ ५ सोमबार
उदयपुरकी चेली फेसबुक 'हेडक्वाटर'मा

उदयपुर

उदयपुरकी एक चेली विश्व सेरोफेरो सामाजिक सञ्जाल फेसबुकको मुख्यालयमा पुगेकी छिन् । पछिल्लो दुईदसकयता मानव 'जीवन पद्धति' बनिसकेको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको मुख्यालयमा पुग्न सफल चेली हुन् उदयपुरको रौतामाई गाउँपालिका २ की २९ वर्षीया बैअबु राई ।


रौतामाई २ सालथुम्काका म्याम्बर राई र शान्ता राईकी छोरी बैअवुले यहीँ सातादेखि फेसबुक मुख्यालयमा वरिष्ट सफ्टवेयर इन्जिनियरको भूमिका निर्वाह गर्नेगरी प्रवेश पाएकी छिन् । गाईघाटको लालीगुराँस आवासीय विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेकी गरेकी बैअवु पूर्ण छात्रबृतिमा बुढानिलकण्ठ स्कुलबाट प्रवेशिका उत्तिर्ण हुन् । उत्कृष्ट नतिजा ल्याउँन सफल उनी त्यसपछि बेलायतको प्रतिष्ठित कलेजबाट पूर्ण छात्रवृत्तिमै उच्च शिक्षा हासिल गर्दै अमेरिकाको म्यासेच्युसेट इन्स्टीच्युट अफ टेक्नोलोजी कलेज छात्रवृत्तिमै पढ्न पुगेकी हुन् । 

 

 


पूर्व नेपाली सैनिक भए पनि समाजसेवी तथा बौद्धिक व्यक्तित्व रहेका बाबु म्याम्बरका अनुसार बाल्यकालदेखि अत्यन्त तिक्ष्ण दिमागकी उनी पढाईलाई पहिलो प्राथमिक्ता राख्ने गर्थिन् । 'उनी केटाकेटीदेखि नै पढ्न भनेपछि निकै रुची राख्थिन्' म्याम्बरले स्मरण गरे 'त्यै भएर प्रारम्भिक पढाईसकेसँगै बुढानिलकण्ठमा प्रवेश पाएपछि उनको भविष्यबारे हामी (बाउ-आमा)ले फर्केर हेर्नु परेन ।'


आफ्नी छोरी अहिले विश्व प्रसिद्ध फेसबुकको मुख्यालयमा पुगेर संसारभरको सेवा गर्ने मौका पाएकोमा आफुहरु अत्यन्त खुसी भएको आमा शान्ताले बताईन् । अमेरिकन सहयोग नियोग युएसएडमा कार्यरत आमा शान्ताले बाउ-आमालाई छोरीले प्रगति गरेकोमा मात्र गर्व नमानेर विश्वलाई एउटै गाउँमा जोड्ने फेसबुकजस्तो सामाजिक सञ्जालमा सेवा गरेर नेपालकै छोरी सावित हुन सफल भएकोमा बैअवुप्रति छाती चौडा भएको प्रतिक्रिया दिएका छन् । 


उदयपुरको एउटा कन्दरामा जन्मेर विश्व सेरोफेरो लिइरहेको फेसबुक मुख्यालयमा वरिष्ट कर्मचारीको भूमिकामा पुगेकी बैअवुप्रति समग्र देशले गर्व गरेको मामा रकम राईले बताए । सामाजिक सञ्जालमा उनलाई बधाईको ओईरो आईरहको छ । आफन्त र शुभचिन्तकहरुले उनीप्रति गर्व गर्दै सुन्दर भविष्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै सन्तोषजनक सेवा गरेर नेपालको इज्जत राख्न आग्रह गरेका छन् ।