माघ १ः नयाँ संवतलाई स्वागतदेखि मेला जात्रासम्मका कार्यक्रम

२0७७ माघ २ शुक्रबार
माघ १ः नयाँ संवतलाई स्वागतदेखि मेला जात्रासम्मका कार्यक्रम

विसनपुर

नेपालीहरुको सामुहिक चाड माघ १ गते उदयपुरमा भव्य रुपमा मनाइएको छ । किराती समुदायको नयाँ वर्ष येले संवत ५०८१ सुरु, थारु र मगर समुदायको माघी र माघे सक्राटी तथा तागाधारी समुदायको माघे संक्रान्ति बिभिन्न कार्यक्रमसहित भव्यरुपमा मनाइएको हो । 

 

यले संवतका अवसर पारेर किरात राई यायोक्खा उदयपुरले बिभिन्न ठाउँमा नयाँ वर्षलाई स्वागत गर्दै बिबिध कार्यक्रम आयोजना गरेको छ । त्यस्तै थारु कल्याणकारीणीसभा उदयपुरले बिबिध सांस्कृतिक कार्यक्रमसहित माघी मनाएको छ भने मगर समुदायले पनि आफ्नो परम्परा अनुसार सक्राटी मनाएको नेपाल मगर संघले जनाएको छ । 


नयाँ येले संसत ५०८१ लाई स्वागत गर्दै त्रियुगा नगरपालिका १२ नं. वडाले बिहीबार विसनपुरमा नगरस्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ । बिभिन्न ८ वटा समूहले सहभागिता जनाउने प्रतियोगिताको पहिलो दिन त्रियुगा १३ असारी र चौदण्डीगढी ४ बसाहाबीच प्रतिस्पर्धा भयो । 


माघीको अवसर मा थारु कल्याणकारीणीसभाको आयोजनामा बिहीबार विसनपुरमै त्रिबेणी मेला तथा बिबिध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सभाले त्रियुगा, बरुवा र लुहाले खोलाको संगमस्तरल (त्रिबेण्ी) मा बेग्लाबेग्लै मेला आयोजना गरेको छ भने विसनपुरमा औपचारिक कार्यक्रमको आयोजना गरेको थारु पत्रकार समाजका अध्यक्ष सुखीलाल चौधरीले बताए ।

 

घिउ, चाकु, तरूल, खिचडी, सेलरोटी, फुलौरालगायत कन्दमुल तथा पिठो र तेलजन्य परिकार बनाएर इष्टमित्रलाई बाँड्ने तथा सामुहिक बसेर खाने तथा रमाईलो गर्ने प्रचलन अनुसार यो माघी बनाइएको छ । तागाधारी समुदायले यो चाडमा विहानै उठेर मकर नुहाउने तथा तिलको टीका (तिलक) लगाउने प्रचलन रहेको छ । 

 

उता कटारी नगरपालिका १ खोक्सास्थित त्रिबेणीमा १५ दिने मैनी मेला सुरु भएको छ । वैजनाथ, ककरु र कमला नदीको संगमस्थल (त्रिबेणी) मा साविक झैं यसवर्ष पनि मैनी मेला सुरु भएको हो । कोविडको जोखिम हुने भन्दै कटारी नगरपालिकाले यो वर्ष मेला नलगाउने निर्णय गरे पनि चौतर्फी बिरोध भएपछि नगरपालिकाले मेला लगाउने पुनर्निर्णय गरेपछि बिहीबार विहानदेखि मेला सुरु भएको हो । 

 


मैनी मेलालाई लेख, बेंसी र मधेससम्मको जमघट र व्यापार गर्ने थलोको रुपमा लिने गरिएको छ । लेखका भोटे कुकुरका छाउरा, राढी पाखी तथा मधेसका घोडा, लत्ताकपडा र सख्खर चिनीजस्ता सामग्री बिक्री हुने गरेको छ । केही वर्षअघिसम्म मेलामा जुवातास र मदिराको अत्याधिक प्रयोग हुँदै आएकोमा पछिल्लो समय त्यसमा रोक लगाइएको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।