गाईघाटमा वडाध्यक्ष कप फुटबलमा बसाहाको जीत सुरु

२0७७ माघ १ बिहीबार
गाईघाटमा वडाध्यक्ष कप फुटबलमा बसाहाको जीत सुरु

उदयपुर

बुधबारदेखि सुरु त्रियुगा नगरपालिका १२ नं. वडाको आयोजनामा सुरु ‘दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता’ मा चौदण्डीगढी नगरपालिका ४ बसाहाले विजयी सुरुवात गरेको छ । 


त्रियुगा नगरपालिका १२ को आयोजनामा विसनपुरस्थित फुटबल खेल मैदानमा बिहीबार दिउँसोदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा बसाहाले त्रियुगा नगरपालिका १३ असारीलाई ५–४ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 


निर्धारित समयमा दुवैपक्षबाट गोल हुन नसकेपछि टाईब्रेकरबाट प्रतिस्पर्धा गरेर नतिजा निकाल्नु परेको त्रियुगा १२ वडाका खेलकुद विकास समिति संयोजक विशाल राईले बताए । उनका अनुसार बसाहाले असारीलाई टाईब्रेकरमा ५ गोल गरेको थियो भने असारीको टोलीले ४ गोल मात्र गर्न सफल भएको थियो ।


वडाध्यक्ष जयविक्रम राईले उद्घाटन गरेको प्रतियोगितामा म्यान अफ द म्याचको उपाधि बसाहाकै सुजन राईले पाए । राईलाई ५ सय नगदसहित ट्रफि प्रदान गरियो । आउँदो सातादिनसम्म चल्ने प्रतियोगितामा ८ वडा समूहले भाग लिने बताइएको छ ।  


प्रतियोगिताका विजेतालाई ३० हजार नगद र ट्रफि प्रदान गरिने छ भने दोस्रो हुनेले २० हजार नगद पुरस्कार पाउने व्यवस्था गरिएको आयोजक वडा सदस्य ध्वजकुमार राउतले बताए ।