२४ वर्षदेखि फरार अभियुक्त पक्राउ 

२0७७ पुष २९ बुधबार
२४ वर्षदेखि फरार अभियुक्त पक्राउ 

उदयपुर


अदालतबाट दोषी करार भएर २४ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले फेला पारेको छ । ०५३ माघ २० गते जिल्ला अदालत उदयपुरले १४ हजार जरिवाना गर्ने फैसला सुनाएको  वन मुद्धाका फरार अभियुक्त त्रियुगा नगरपालिका १० का ४० वर्षीय प्रकाश भन्ने रामबहादुर खड्का पक्राउ परेको प्रहरीले जनाएको छ । 


अदालतले दोषी करार गरिसके पनि फरार रहेकाहरुलाई खोजी गर्ने क्रममा प्रहरीले मंगलबार साँझ ५ः०० बजे खड्कालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले खड्कालाई त्रियुगा नगरपालिका ११, चप्पनबाट नियन्त्रणमा लिएको जनाएको छ । 


जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले पक्राउ खड्कालाई फैसला कार्यान्वयन गराउन बुधबार जिल्ला अदालतको जिम्मा लगाइएको बताएका छन् ।