चौदन्दीगढी महिला टिमले जित्ला राष्ट्रिय महिला लिग फुटबल ?

२0७७ पुष २९ बुधबार
चौदन्दीगढी महिला टिमले जित्ला राष्ट्रिय महिला लिग फुटबल ?

बुद्धि चामलिङ राई          
बेल्टार


माघ ७ गते बुधबारदेखि काठमाडौमा हुने राष्ट्रिय महिला लिग प्रतियोगिताका लागि उदयपुरको चौदण्डीगढी महिला फुटबल टिमलाई दिदै गरेको प्रशिक्षण अन्तिम चरणमा पुगेको छ । मुख्य प्रशिक्षक अखिल नेपाल फुटबल संघ (एन्फा) का उदयपुरे प्रशिक्षक दिपक थापा, जिल्ला खेलकुद विकास समिति उदयपुरका सहायक प्रशिक्षक चौदण्डीगढी बेल्टारकी कुमारी राई र चौदण्डीगढी नगरपालिका बसाहाकी गोल किपर तथा (एन्फा)का प्रशिक्षक आशा राईले प्रशिक्षण दिइरहेका छ्न । 


बन्द प्रशिक्षणमा चौदण्डीगढी नगरपालिकाको बेल्टारस्थित खेल मैदानमा उदयपुरका विभिन्न क्षेत्र बेल्टार, बसाहा, रामपुर, गाईघाट, श्रीपुर, नेपालटारलगायतका २६ खेलाडीलाई गत पुस ३ गतेदेखि प्रशिक्षण दिइदै गरेको प्रमुख प्रशिक्षक दिपक थापाले जानकारी दिए ।  बन्द प्रशिक्षणका २६ खेलाडीहरुमा देबिका श्रेष्ठ, युनिका चामलिङ राई, चोमोलोङमा राई, मनिका राई, लक्ष्मी राई, एल्जिना राई, निता राई, नमिता राई, सरस्वती चौधरी, अमृता राई, सबिता तामाङ, अन्जना थुलुङ राई, सुनिता घिसिङ तामाङ, सन्ध्या रम्तेल, मनिता तामाङ र अनुषा थेबे रहेको थापाले बताए। 


त्यस्तै अन्य खेलाडीमा पुर्णमाया (जीवनि) राई, देबकला राई, अन्जना तामाङ, ममता राई, सुमिका राई, सम्झना राई, सुस्मिता राई, सजना लिम्बू, सुमित्रा दाहाल, सुस्मिता चामलिङ राई  र बिनिता राईले पनि प्रशिक्षण लिदैछ्न् । बिभागीय टिमहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी (एपिएफ) गरी ३ टिमबाहेकका  नगरपालिकाले आफनो टिममा चारजना बिदेशी खेलाडी दक्षिण एसियाका भारत, बङ्गलादेश, भुटान, श्रीलंका, माल्दिप्स र पाकिस्तानका खेलाडी राख्न पाउने आयोजक एन्फाले  जनाएको छ । 


यस्तो व्यवस्था भएपछि चौदण्डीगढी नगरपालिकाले बङ्गलादेशका ३ जना खेलाडी आफ्नो टिममा राख्ने प्रक्रिया अघि बढाएको चौदण्डीगढी नगर फुटबल टिमका  मुख्य प्रशिक्षक थापाले बताए । थापाका अनुसार हाल बन्द प्रशिक्षणमा रहेका २६ खेलाडी र बङ्गलादेशका ३ विदेशी खेलाडी गरी २९ मध्येबाट २३ जना खेलाडीको टिम अन्तिम छ्नोट गर्ने तयारी भईरहेको छ । राउन्ड रोबिङ बिधिमा खेलाइने खेलमा ३ विभागीय टिम त्रिभुबन आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित अन्य ४ नगरपालिका चौदन्दीगढि नगरपालिका उदयपुर, बिराटनगर महानगरपालिका मोरङ, वालिङ नगरपालिका स्याङ्जा र चन्द्र्पुर नगरपालिका रोउतहटले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन ।  


माघ ७ गते बुधबारदेखि फागुन ७ गतेसम्म एक महिना खेलाइने खेलमा प्रतिस्पर्धी ७ टिमले ४२ खेल खेल्नेछन् । प्रतियोगिता काठमाडौंको दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने एन्फाले जनाएको छ । ६ महिनासम्म खेलाइने पुर्व योजना भए पनि २०७६ साल मङ्सिरमा नै सम्पन्न गरिसक्नु पर्ने गतवर्षको यो खेल कोरोनाको प्रभाबले यो वर्ष १ महिनामै सम्पन्न गर्न लागिएको एन्फाका प्रबक्ता किरण राइले बताए । प्रबक्ता राईका अनुसार अहिले हुन गइरहेको खेललाई ६ महिनासम्म लम्ब्याउँदा आउँदो वर्षको खेल प्रभावित हुने भएकाले यो वर्ष १ महिनामै प्रतियोगिता सकेर आउँदो वर्षको प्रतियोगितालाई ६ महिनासम्म खेलाइने योजना अघि बढाइएको हो । 


खेलका लागि गत वर्ष असारमा काठमाडौमा भएको उपमेयर अन्तर नगरपालिकास्तरीय प्रतियोगितामा चौदन्दीगढी नगरपालिकाले आफ्नो ४ वटै खेलमा जित हासिल गरेर यो चरणमा प्रबेश गरेको हो । गतवर्ष २०७६ असारमा काठमाडौमा भएको खेलमा चौदन्दीगढी नगरपालिकाले पहिलो खेल २०७६  असार ४ गते बुधबार एपिएफ मैदान हलचोक काठमाडौमा  पोखरा महानगरपालिका कास्कीलाइ ७-० गोलले हराएको थियो । २०७६ असार ५ गते बिहिबार भएको दोस्रो खेलमा हेटौंडा उपमहानगरपालिका मकवानपुरलाई ५-२ गोलले हराएको थियो भने तेस्रो खेलमा वीरेन्द्रनगर नगरपालिका सुर्खेतलार्इ हराएको चौदण्डीगढी नगरपालिकाले २०७६ साल असार ९ गते सोमबार  भएको अन्तिम खेलमा कावासोती नगरपालिका नबलपरासीलाई २-० गोलले हराएको थियो । 


दौदन्दीगढीले समूह चरणको ४ वटै खेल जितेर सेमिफाइनलमा प्रबेश गरेको हो।  यसअघि राष्ट्रिय महिला फुटबल लिग बिजेता टिमले नगद ५ लाख पाउने गरेको थियो भने यो वर्ष उक्त पुरस्कार रकमलाई तेब्बर वृद्धि गरी बिजेतालाइ १५ लाख नगद दिइने भएको छ । पुरष राष्ट्रिय फुटबल लिग बिजेताले भने ५० लाख नगद पाउदै आएको छ । चौदन्दीगढी उदयपुर टिम माघ ५ गते काठमाडौ जाने तयारीमा लागेको छ । 


उदयपुर महिला फुटबल टिमले २०६९ साल असार ३० गते बारा जिल्लाको सिमरा खेलमैदानमा भएको राष्ट्रिय लिग महिला फुटबल टिम प्रतियोगितामा बारासङ्ग ३-० गोलले उदयपुर महिला फुटबल टिम हारेको थियो । त्यो हारलाई मल्हम लगाउँदै चौदण्ठडीगढी महिला टिमले यो वर्ष उपाधि चुमेको हेर्न चाहेको चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले बताए ।