निर्वाचन कार्यालयलाई नेकपासहित ३ दलको विरोध

२0७७ पुष २८ मंगलवार
निर्वाचन कार्यालयलाई नेकपासहित ३ दलको विरोध

उदयपुर


प्रचण्ड-माधव समूहको नेकपासहित उदयपुरका ३ दलले जिल्ला निर्वाचन कार्यालयमा मंगलबार विरोधपत्र बुझाएका छन् । प्रचण्ड-माधव समूहको (बहुमत) पक्ष, जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चा नेपालको संयुक्त विरोधपत्रमा निर्वाचनको तयारीसम्बन्धी कुनै पनि क्रियाकलापमा सहभागिता नजनाउने जनाउका छन् । 


नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल, जसपाका उपाध्यक्ष सुवास राई र जनमोर्चाका सचिव लिलकुमार राईले हस्ताक्षर गरेको विरोधपत्र निर्वाचन कार्यालयमा बुझाइएको छ । विरोधपत्रमा सम्मानित सर्वाेच्च अदालतबाट प्रतिनिधिसभाको विघटनको मुद्दा किनारा नलागेसम्म निर्वाचन कार्यालयले गर्ने कुनै पनि कार्यक्रममा आफुहरु सहभागी नहुने जनाइएको छ । 


विरोधपत्रमा २०७७ पुस ५ गते प्रधानमन्त्री केपी ओलीले नेपालको संविधानको ठाडो उल्लंघन गर्दै  असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी ढंगबाट प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेको आरोप लगाउँदै सो कदमप्रति दलहरुले आपत्ति जनाएका छन् । 


‘प्रधानमन्त्री ओलीले पुस ५ को संसद विघटन र वैशाखमा निर्वाचनको मिति तोक्ने निर्णयप्रति हाम्रो घोर विरोध एवम् भत्र्सना गर्दछौं’ विरोधपत्रमा भनिएको छ ‘हामी ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न, वर्तमान असंवैधानिक कदम तथा सबै प्रकारको प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र त्यसका लागि जस्तोसुकै संघर्ष गर्न नेपाली जनता सक्षम रहेको जानकारी गर्दछौं ।’ 


३ दलले निर्वाचन कार्यालयमा पठाएको विरोधपत्रमा संसद विघटन र निर्वाचन घोषणाको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले निर्वाचनको तयारी अघि नबढाउन आग्रह गर्दै विरोधपत्र बुझाएको नेकपाका अध्यक्ष कटुवालले बताए । अदालतको फैसला नआएसम्मका लागि निर्वाचनसम्बन्धी गरिने कुनै पनि क्रियाकलापमा सहभागी नहुने पार्टीको निर्णय भए अनुसार विरोधपत्र बुझाइएको कटुवालले बताए ।