कोविड कहरः बसपार्कको टर्मिनल भवन म्यादभित्र सकिएन

२0७७ पुष २८ मंगलवार
कोविड कहरः बसपार्कको टर्मिनल भवन म्यादभित्र सकिएन

उदयपुर

दु्रतगतिमा काम भईरहेकै बेला कोरोना भाईरसले देशभर लकडाउन हुँदा गाईघाटमा निर्माणाधीन बसपार्कको टर्मिनल भवनको काम तोकेको समयमा सम्पन्न नहुने भएको छ । प्रदेशस्तरीय नमूना बसपार्कको बीच भागमा बन्दै गरेको भवन डेढवर्ष (यही ०७७ पुस)भित्र सक्ने सम्झौता भएकोमा कोविडका कारण लम्बिएर ३–४ महिना पछि मात्र बन्ने अवस्था भएको छ । 


त्रियुगा नगरपालिका ३ र १२ बीच त्रियुगा नदी किनारमा हालकै बसपार्कलाई सुविधासम्पन्न र अत्याधुनिक बनाउनेगरी गतवर्षदेखि टर्मिनल भवन निर्माण भईरहेको छ । योजनाको रेखदेख गर्ने े जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरी राजविराजले ०७६ असार ३१ गते सम्झौता गरी ०७७ पुस मसान्तभित्र सक्ने सम्झौता भएकोमा कोविडले काम रोकिन पुग्दा सक्ने केही समय पर्खनु पर्ने जनाएको छ । 


अढाई तल्ले ३० कोठे दुईवटा भवनमध्ये हालसम्म एउटाको दोस्रोत तलाको ढलान गर्ने बेला भएको छ भने एउटाको पहलिो तलाको ढढाल नयारी भईरहेको सघन कार्यालयका प्रमुख (डिई) सुरेन्द्रकुमार साहले बताए । उनका अनुसार कोविडका कारण झण्डै ६ महिना काम रोकिएकाले तोकिएको मितिभन्दा केही महिनना पछि सम्पन्न हुने देखिएको छ । 


भवन रमण÷आईएसएमडी जेवीले लागत इस्टीमेटभन्दा ३४ प्रतिशत कम मूल्य (बिलो)मा बनाउने ठेक्का लिएको छ । कुल १९ करोड २५ लाख लागत मूल्यको काम ३४ प्रतिशत कममा मूल्य अभिबृद्ध कर (भ्याट) बाहेक १२ करोड ४९ लाख रुपैंयामा ठेक्का लिएर काम थालेको डिई साहले बताए । 


तोकिएको म्यादभित्र काम नसकिने भएपछि कार्यालयले म्याद थप्न लागेको छ । १५ प्रतिशत अवधि म्याद थप्ने अधिकार अनुसार थप्न लागेको डिई साहले बताए । त्यसभन्दा बढी म्याद थप्नु परे विभाग र मन्त्रालयले मात्र गर्ने उनको भनाई छ । ‘कार्यालयको अधिकार १५ प्रतिशत म्याद थप्न सक्छ’ डिई साहले भने ‘योभन्दा बढी चाहिए २५ प्रतिशत विभागले र ५० प्रतिशत  मन्त्रालयले थप्न सक्छ ।’


टर्मिनल भवनमा बसपार्कको प्रशासनिक कक्ष, टिकट काउन्टर, नियन्त्रण कक्ष र सुरक्षा पोष्ट राखिनेछ । भवनसँगै १४ मिटर अग्लो घण्टाघर पनि निर्माण गरिने इस्टीमेट छ । बसपार्कमा यात्रु र व्यवसायीलाई सुरक्षित गर्न क्लोज सर्किट (सिसी) क्यामेरा जडान गर्ने इस्टीमेट रहेको छ । 


आकर्षक फुलबारीसहितको त्रियुगा बसपार्क प्रदेशकै नमूना, अत्याधुनिक तथा सुविधासम्पन्न र यात्रुमैत्री हुने प्राविधिक इस्टीमेट सघनले बनाएको इन्जिनियर तथा साईट ईन्चार्ज ब्रम्हदेव चौधरीले बताए । उनका अनुसार झण्डै ५ बिगाहा क्षेत्रफल जग्गामा बन्दै गरेको बसपार्कका भित्रि सबै सडकहरु कालोपत्रे र फुलबारीयुक्त हुन्छन् । 

ठाउँठाउँमा ‘फलामे सेड’सहितका ‘पार्किङ लटहरु’ निर्माण गरिनेछ भने यात्रुलाई गाडी पर्खन व्यवस्थित प्रतिक्षालय (वेटिङ सेड) बनाइनेछ । बिग्रेका गाडी मर्मत गर्न आधुनिक उपकरणयुक्त ग्यारेज (सर्भिस सेन्टर) पनि बसपार्कभित्रै बनाइने चौधरीले बताए । साथै बसपार्कभित्रै खाजा घर (क्यान्टिन) र उपभोग्य सामान बेच्न ‘सपिङ कवल’हरु पनि निर्माण गरिने इन्जिनियर चौधरीले बताए । महिला–पुरुष र अपाङ्गताका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय बसपार्कमा बनाइनेछ ।