विराटनगर एयरपोर्ट विस्तारले पीडितलाई क्षतिपूर्ति माग्दै संघर्ष समिति गठन 

२0७७ पुष २७ सोमबार
विराटनगर एयरपोर्ट विस्तारले पीडितलाई क्षतिपूर्ति माग्दै संघर्ष समिति गठन 

विराटनगर 
विराटनगर विमानस्थल विस्तार गर्न अघि सारिएको सरकारी योजनाले घरजग्गा गुमाउन लागेका पीडितहरुले मुआब्जा माग गर्न संघर्ष समिति गठन गरेका छन । विमानस्थल विस्तार गर्ने सरकारी निर्णयका कारण १ सय २६ विगा जमिन अधिग्रहण गरिने भएपछि घर, घडेरी र जमिन गुमाउने स्थानीयहरुको सोमबार सम्पन्न भेलाले १५ सदस्यीय ‘विमानस्थल पीडित संघर्ष समिति’ गठन गरेको हो । 


विमानस्थल विस्तार गर्न घेराबारका लागि प्राविधिक सर्भेक्षण थालिएसँगै विस्ताथित हुने विराटनगर महानगरपालिका ४ का करिब ३ सय घरधुरी परिवारको भेलाबाट बेदराज पौडेल संयोजकत्वमा संघर्ष समिति गठन भएको हो । ववगठित समिलिते पीडितलाई उचित मुआब्जा र क्षतिपूर्तिका माग अघि सारेको छ । 


संयोजक पौडेलले विमानस्थलवरिपरि घर निर्माण गरेर बर्षाैदेखि बसोबास गर्दै आएका सर्बसाधारण घरबारबिहीन हुनबाट बँचाउन राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने बताए । अहिले बसोबास गरेको जत्तिकै जमिन दिएर पुनर्बासको व्यवस्था मिलाउन क्षतिपूर्ति दिनुपर्ने माग समितिको छ । 


विमानस्थल अन्तराष्ट्रियस्तरकै बन्नुपर्ने आफुहरुको धारणा रहेको प्रष्ट्याउँदै संयोजक पौडेलले काममा अवरोध नभएर राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति न्यायसंगत र व्यबहारिक बनाउन समितिले पहल गर्ने बताए । विमानस्थलले कहिलेसम्म मुआब्जा दिने हो त्यसपछि मात्र घर जमिन खाली गर्ने भन्दै मिति स्पष्ट गर्दै क्षतिपूर्तिका आधारहरु स्पष्ट पार्नुपर्ने उनको माग छ । 


राज्यबाट पाउनुपर्ने क्षतिपूर्तिले अहिले बसिरहेको थातथलोभन्दा सुगममा जमिन किनेर घर बनाउनसक्ने हैसियत बन्नुपर्ने उनको माग छ । भविष्यमा अन्तराष्ट्रियस्तरको विमानस्थल बनाउने लक्ष लिइएको विमानस्थल विस्तार गर्दा सुनसरीको गुर्जृ गाउँपालिकासमेतलाई छोएर यसपटक १ सय २६ दशमलव ४६ विगा जमिन अधिग्रहण् गर्नेगरी सर्भे भईसकेको छ । 


विमानस्थल विस्तार गर्न १ सय २६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय गत कात्तिक २७ गतेको मन्त्रीपरिषद बैठकले गरेको थियो । विस्तारित विमानस्थलको धावन मार्ग २ हजार ५ सय मिटर लामो हुने छ । हाल १ हजार ५ सय मिटर मात्रको धावनमार्ग छ । विमानस्थल विस्तार गर्न पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४, उत्तरतर्फ ३५.८१ र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जमिन अधिग्रहण गर्नुपर्ने छ ।