नेकपा उदयपुरले पनि ओलीलाई 'संविधान पढायो'

२0७७ पुष २६ आईतवार
नेकपा उदयपुरले पनि ओलीलाई 'संविधान पढायो'

उदयपुर

प्रधानमन्त्रीलाई संसद विघटन गर्ने संवैधानिक अधिकार नभएको स्मरण गराउन आयोजित देशव्यापी कार्यक्रम अनुसार नेकपा प्रचण्ड-माधव समूह उदयपुरले पनि केपी ओलीलाई संविधान पढ्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको छ । पार्टीको घोषित कार्यक्रम अनुसार उदयपुर कमिटीले जिल्ला प्रशासन कार्यलयमार्फत संसद विघटनको अधिकार संविधानमा नभएको बुँदा पढ्न अनुरोध गर्दै निर्णय फिर्ता लिन ओलीलाई अनुरोध गरेको हो ।


प्रशासन कार्यालयमा नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष विनोद कटुवालले ज्ञापनपत्र बुझाउँदै ओलीले गरेको संसद विघटनको सिफारिस असंवैधानिक भएकाले फिर्ता लिन आग्रह गरे । ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कटुवालले ओलीलाई संसद विघटनको सिफािरसले संविधानको उलंघन भएकाले पुनस्र्थापना गर्न माग गर्दै एकप्रति संविधान प्रधानमन्त्री कार्यालय पठाउन सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेललाई हस्तान्तरण गरे । 


‘अहिलेको संसद विघटन असंवैधानिक छ’ सहायक सिडिओ पोखरेललाई ज्ञापनपत्र बुझाउँदै कटुवालले भने ‘त्यसैले यो असंवैधानिक निर्णय सच्याउँन राम्ररी संविधान पढन् भनेर प्रधानमन्त्रीलाई पठाएका हौँ, सम्मानीय प्रधानमन्त्रीले राम्ररी पढेर असंवैधानिक निर्णय फिर्ता लिनुहोस् भन्ने अनुरोध छ ।’ 


अध्यक्ष कटुवालबाट ज्ञापनपत्रसहितको संविधान प्रति ग्रहण गर्दै सहायक सिडिओ पोखरेललले ज्ञापनपत्र र संविधान तत्कालै प्रधानमन्त्री कार्यालय पठाउने प्रतिबद्धता जनाए । ‘तपाईहरुले दिएको ज्ञापनपत्र हामी अहिले नै जस्ताको तस्तै पठाईन्छिौं’ पोखरेलले भने । 


पार्टी जिल्ला कमिटी सचिव इश्वरमणि राउतले असंवैधानिक संसद विघटनविरुद्ध देशव्यापी आन्दोलन गर्ने कार्यक्रम अनुसार उदयपुरमा पनि चरणवद्ध आन्दोलन जारी रहेको बताए । सोही अनुसार प्रचण्ड-माधव समूहले आईतबार संविधान पढ्न ज्ञापनपत्रसहित प्रधानमन्त्रीलाई अनुरोध गरेको राउतले बताए । 


संसद पुनस्र्थापनाको पक्षमा जनमत सिर्जना गर्न केन्द्रले गरेको सर्कुलर अनुसार उदयपुर कमिटीले विरोध कार्यक्रम, प्रधानमन्त्री ओलीको पुत्ला दहन, अगुवा कार्यकर्ता भेला, प्रशिक्षण, आमसभालगायत सबैखाले कार्यक्रम गर्दै आएको राउतले बताए । उनले ओलीको असंवैधानिक कदम सच्याउँदै विघटित संसद पुनस्र्थापना गर्नु नै एक मात्र राजनीतिक निकास भएको बताए ।