स्वदेशमै इन्धन उत्पादन गर्न आयल निगम र केयुबीच समझदारी

२0७७ पुष २५ शनिबार
स्वदेशमै इन्धन उत्पादन गर्न आयल निगम र केयुबीच समझदारी

उदयपुर

नेपाल आयल निगमले काठमाडौं विश्वविद्यालय (केयु)सँगको साझेदारीमा इन्धन र ऊर्जाक्षेत्रको विकास गर्ने गरी शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरेको छ । निगमले शैक्षिक संस्थासँग सहकार्यमा देशभित्रका पेट्रोलियम पदार्थ र ऊर्जाको विकास गर्ने उदेश्य अनुुरुप केयुसँग समझदारी गरेको हो । 


कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र केयुका पूर्व रजिष्ट्रार डा. भोला थापाको उपस्थितिमा आयोजित एक कार्यक्रममा सम्पन्न समझदारीपत्रमा केयुका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन डा. डम्बर नेपाली र निगमका तर्फबाट निर्देशक दीपक बरालले हस्ताक्षर गरेका छन् । 


निगमले अहिलेसम्म भारतबाट इन्धन खरिद गरेर नेपालमा बिक्री बितरण गर्दै आएकोमा अबदेखि केयुको सहयोगमा नेपालमै इन्धन खानीको खोज गरी उत्पादन गर्ने तथा खपत र निर्यातसम्मको योजना अनुरुप समझदारी गरेको कार्यकारी निर्देशक पौडेलले बताए । समझदारीले विद्युतबाट इन्धन उत्पादन गर्नसक्ने प्रविधिको विकास गर्न महत्वपूर्ण सहयोग मिल्ने अपेक्षा पौडेलको छ । 


र्माणाधीन माथिल्लो तामाकोशी र अन्य जलविद्युत परियोजनाबाट क्षमता अनुसार विद्युत उत्पादन भए उपभोग गर्न नसकेर खेर जाने संभावनालाई समझदारीले टार्नेछ । देशका बिभिन्न निर्माणाधीन परियोजनाबाट उत्पादित विद्युत खपत हुन नसके त्यसलाई इन्धन उत्पादनमा प्रयोग गर्न समझदारीले बाटो खुल्ला गरेको अध्यक्ष पौडेलले बताए ।

 

केयुका मेकानिकल इन्जिनियरिङ विभागका उपप्राध्यापक विराजसिंह थापाले देशमा उत्पादिन विद्युत खेर जान नदिन ‘हाइड्रोजन इन्धन’ उत्पादन गर्ने योजना केयुले अघि सारेको बताए । विकसित देशहरुले गाडी, विमान, रेललगायत सवारी साधनमा हाइड्रोजन इन्धन प्रयोग गर्दै परम्परागत इन्धन विस्थापित गर्दै लगेको उदाहरण दिदै थापाले हाइड्रोजन इन्धन भविष्यको ऊर्जा र इन्धन दुवै हुने बताए । 


नेपालको विजुलीबाट ग्रीन हाइड्रोजन इन्धन उत्पादन गर्न सकिने संभावना पनि उपप्राध्यापक थापाले औंल्याए । नेपालसँग बिजुली सरप्लस भए पनि निगमले भारतबाट इन्धन किनिरहनुपर्ने अवस्था कम गर्ने थापाको आँकलन छ । त्यसका लागि आवश्यक प्रविधि, नीति, पूर्वाधार, जनशक्ति र क्षमता केयुले विकास गर्ने उनले बताए । 


स्वदेशकै स्रोतको परिचालन गरी इन्धन उत्पादन गर्न ऊर्जा खपत गर्नुपर्ने परिकल्पना अनुसार  केयु र निगमबीच समझदारी भएको हो । देश लोडसेडिङमुक्त हुँदै गएकाले अव उत्पादन हुने विद्युत बढी भएर नेपालमा खपत नभए निर्यात गर्नुपर्ने हुन्छ । त्यसतो अवस्था आउन नदिन विद्युत खपतका अन्य क्षेत्रहरुको पहिचान गर्नुपर्ने ठान्दै केयुले यसअघि नै ‘ग्रीन हाइड्रोजन ल्याब’ सञ्चालनमा ल्याईसकेको पनि थापाले बताए । 


अनुसन्धान र विकासका लागि केयुले सक्षम र सबल कम्पनीको साथ खोजिरहेका बेला निगमसँग सहकार्य हुने भएपछि प्रस्तावित योजना कार्यान्वयनमा ल्याउन लागेको केयुले जनाएको छ । उनले समझदारी अनुसार निगमले सञ्चालन गरिरहेका सबै परियोजनामा आवश्यक इन्जिनियरिङ परामर्श केयुले नै उपलब्ध गराउने बताए । 


निगमको अटोमेसन, डिजिटलाइजेसनलगायत कार्यमा पनि केयुले काम गर्ने समझदारीपत्रमा उल्लेख छ । निगमलाई आवश्यक तालिमदेखि अनुसन्धान, पाठ्यक्रम विकासलगायत कार्यमा पनि सहयोग गर्ने प्रतिबद्धता केयुले जनाएको छ । नेपालका बिभिन्न भागमा पत्ता लागिसकेका खानीको अन्वेषण गरी पेट्रोलियम पदार्थ उत्पादन र वितरणमा केयुले सहकार्य गर्ने समझदारीपत्रमा उल्लेख छ । 


केयुले निगमकै स्रोतबाट परियोजना सञ्चालन गर्ने गरी इन्धन र ऊर्जाक्षेत्रमा ५ वर्ष सहकार्य गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । तर, परिणाम राम्रो देखिए सम्झौता नविकरण गर्दै जान सकिने थापाले बताएका छन् ।