चेमजोङको ‘उदयपुरको इतिहास’ बजारमा

२0७७ पुष २३ बिहीबार
चेमजोङको ‘उदयपुरको इतिहास’  बजारमा

उदयपुर

वरिष्ट पत्रकार कौशल चेमजोङद्वारा लिखित ‘उदयपुरको इतिहास’ पुस्तक बजारमा आएको छ ।  बिहीबार काठमाडौंको सत्यमोहन जोशी लोकसाहित्य भवन बखुम्बहालमा आयोजित एक कार्यक्रममा शताब्दी पुरुष संस्कृतविद सत्यमोहन जोशीले पुस्तकको लोकार्पण गरे । 


उदयपुर अनुसन्धान केन्द्रले प्रकाशनमा ल्याएको पुस्तकमा उदयपुरे इतिहासको खोजमुलक अध्ययनलाई सचित्र उतारिएको चेमजोङले दावी गरेका छन् । उनका अनुसार पुस्तकमा उदयपुरको ऐतिहासिककालदेखिको जनजीवन, सामाजिक रहनसहन, बसोबास, समुदाय र जातजाति तथा समाज विकासक्रमसँगै जिल्लाको पर्यटन, राजनीति, कृषिलगायत बिभिन्न विषयमाथि खोज अनुसन्धान बिबरण पढ्न पाइने छ । 


चेमजोङ उदयपुरमा ३ दशक बढी समयदेखि निरन्तर मोफसलको पत्रकारिता र साहित्य तथा पुस्तक लेखनमा कलम चलाउँदै आएका छन् । यसअघि उनका ‘उदयपुरको पर्यटन’, ‘उदयपुर सिमेन्ट उद्योग लि. जलजलेको चिनारी’लगायत बिभिन्न आधादर्जन पुस्तक प्रकाशित भईसकेका छन् । 

 


चेमजोङ झर्रा शब्द लेख्ने साहित्यकारसमेत हुन् । ‘डुकुरे साँईला’को साहित्यिक नामबाट चिनिने उनी नेपाल सरकारबाट नगद पुरस्कारसहित ‘वरिष्ट पत्रकार’को उपाधि प्राप्त हुन् भने नेपाल पत्रकार महासंघबाट ‘प्रेस स्वतन्त्रता सेनानी’को उपाधिसमेत प्राप्त गरेका छन् । 


नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष भईसकेका चेमजोङ उदयपुर शाखाका संस्थापक सदस्य हुँदै सचिव, उपाध्यक्ष र दुई कार्यकाल अध्यक्षसमेत भईसकेका छन् ।