ओलीको समर्थनमा शक्ति प्रर्दशन

२0७७ पुष २२ बुधबार
ओलीको समर्थनमा शक्ति प्रर्दशन

उदयपुर 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको समर्थनमा युुवा विद्यार्थीले बुधबार सदरमुकाम गाईघाटमा शक्ति प्रदर्शन गरेका छन् । जिल्लाका विभिन्न ठाउँबाट बस रिर्जभ र मोटरसाईकलमा आएका युवा विद्यार्थीले प्रधानमन्त्रीको कदमलाई स्वागत गर्दै शक्ति प्रदर्शन गरेको यो पहिलो पटक हो ।


ओलीले संसद विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेदेखि नै नेकपा प्रचण्ड–माधव समूहले दिनदिदैजस्तो विरोध प्रदर्शन गर्दै ओलीको पुत्ला दहन गर्दै आएको छ । ओली समूहले भने यसअघि जिल्ला कमिटी गठन गर्दै गाउँगाउँमा संगठन विस्तारको काम गर्दै आएको छ । जिल्ला कमिटी अध्यक्ष विनोद कटुवाल र सचिव इश्वरमणि राउतसहित दुईतिहाई बहुमत प्रचण्ड–माधव समूहमै रहेपछि ओली समुहले प्रचण्ड–माधव समूहका जिल्ला सचिवालय सदस्य प्रमेश्वर घिमिरेको संयोजकत्वमा जिल्ला कमिटी पुनर्गठन गरेर संगठन विस्तारमा लागेको हो ।


ओली समूहकै जिल्ला सदस्य कुशल बस्नेत सचिव रहनेगरी गठित जिल्ला कमिटीले नगरपालिकाका बिभिन्न वडामा भेला गर्दै संगठन निर्माणमा लागेको यो समूहले प्रधानमन्त्री ओलीको संसद विघटनको समर्थनमा शक्ति प्रदर्शन गरेको हो । ‘जिल्लास्तरीय युवा विद्यार्थी भेला’ कार्यक्रममा त्रियुगा, कटारी, बेलका र चौदण्डीगढी नगरपालिकाबाट युवा विद्यार्थीहरु बस रिजर्भ गरेर सहभागी भएका थिए । 


गाईघाट लोकतान्त्रिक चौक (पिपलचोक)बाट निस्केको र्याली बजार परिक्रमापछि स्थानीय टाउनहल पार्टी प्यालेसमा पुगेर सभामा परिणत भएको थियो । सभालाई राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौड्ेल, अनेरास्ववियु उपाध्यक्ष शैलेश लामालगायतले ओलीको कदम स्वागतयोग्य भन्दै समर्थन जनाए । 


पार्टीभित्रैबाट भएको चरम घेराबन्दीका कारण प्रधानमन्त्रीले संसद विगठन गर्न बाध्य हुनुपरेको उनीहरुको भनाई थियो । अहिलेको विशिष्ट परिस्थितिमा जनतासमक्ष जानुको विकल्प नभएको भन्दै उनीहरुले ओलीले गरेको संसद विघटन र मध्यावधि चुनावको बचाउ गरेका थिए । 


वक्ताहरुले राष्ट्रियताको पक्षमा काम गर्दा ओलीलाई हटाउने खेल भएकाले जनतामा जाने निर्णय गर्नु जायज भएको बताए । नेताहरुले प्रचण्ड–माधव समूहले आफ्नै दलको प्रधानमन्त्री माथि अविश्वास प्रस्ताव दर्ता गर्न र संसदीय दल टुक्राउन खोजेपछि पार्टी फुटेको जिकिर गरे । ओलीकै समूहमा नेकपा र सूर्य चिन्ह कायम रहने भन्दै ओली समूह नै आधिकारिक नेकपा भएको दलिल उनीहरुको थियो ।