उदयपुर सिमेन्टले नयाँ जिएम पायो

२0७७ पुष २१ मंगलवार
उदयपुर सिमेन्टले नयाँ जिएम पायो

उदयपुर

पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेले नयाँ महाप्रबन्धक (जिएम) पाएको छ । मन्त्रालयको गैरजिम्मेबारीपनका कारण दुईवर्षदेखि जिएमविहीन हुन पुगेको उसिउलिले भक्तपुरका गोपीकृष्ण न्यौपानेलाई नयाँ जिएम पाएको हो । 


सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई जिएम नियुक्ति दिने निर्णय गरेको उसिउलि जिएम छनौट समितिका संयोजकसमेत रहेका मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई उद्धृत गर्दै उद्योगले जनाएको छ । पूर्व सचिवहरु कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल र नारायण विडारी सदस्य रहेको घिमिरे संयोजकत्वको समितिको सिफारिसमा परेका न्यौपाने, ध्रुबबहादुर देवकोटा र भुपेन्द्रप्रसाद अर्याल ३ जनामध्ये उनलाई जिएम नियुक्ति दिइएको मन्त्रालयले जनाएको छ ।

 

नयाँ जिएम छनौटका लागि प्रकाशित विज्ञापनमा १० जनाले आवेदन दिएकोमा उद्योगकै निवर्तमान नायव महाप्रबन्धक (डिजिएम) देवकोटा, न्यौपाने र अर्याल सिफारिसमा परेका थिए । नवनियुक्त जिएम न्यौपाने बैंकिङ, हाइड्रोपावर हाउस, अटोमोवाईल, शिक्षा, स्वास्थ्य र कृषिक्षेत्रमा अनुभव प्राप्त व्यवसायी भएको बताइएको छ । माछापुछ्रे बैंकका सञ्चालक, चार्टर एकान्टेन्ट संस्थाका सदस्यसमेत रहेका न्यौपाने चौधरी ग्रुपमा पूर्व महाप्रन्धक र नेपाल अटो मोवाईल संघका पूर्व महासचिवसमेत हुन् । नागरिक लगानी कोष र नागरिक सामुदायिक शिक्षण अस्पतालसँग संलग्न उनी कानुन व्यवसायीसमेत भएको बताइएको छ । 


दक्षिण एसियाकै गुणस्तरीय गैंडा सिमेन्ट उत्पादक उसिउलि दुईवर्षअघि ०७५ पुस २४ गते तत्कालीन जिएम सुरेन्द्रकुमार पौडेल नेपाल आयल निगमको कार्यकारी अध्यक्ष भएर गएदेखि नै जिएमविहीन छ । त्यतिबेलै नयाँ जिएम नियुक्ति प्रक्रिया अघि बढाइएकामा उम्मेदवारको नाम सर्टलिस्ट गर्न नभ्याई बिबाद भएपछि नियुक्ति प्रक्रिया अवरुद्ध हुन पुगेको थियो । 


जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०४५ सालमा स्थापना भएर ०४९ देखि व्यवसायिक उत्पादन सुरु भएको उसिउलिको उत्पादन क्षमता दैनिक ८ सय मेट्रिकटन छ । तर, राजनीतिक कोपभाजनमा परेर सहज वातावरण पाउन नसक्दा उद्योग आर्थिक संकटमा पर्दै गएपछि सरकारले ०७२ मा नीजिकरण गर्ने निर्णय गरेको थियो । पौडेल नयाँ जिएम भएपछि मजदुर कर्मचारीको आग्रहमा मन्त्रालयले नीजिकरणको निर्णय फिर्ता लिएको थियो । वर्षौंदेखि घाटा बेहोर्दै आएको उद्योग पौडेल नेतृत्वको कार्यकालमा सुधार हुँदै दैनिक ९ सय मेट्रिकटनसम्म सिमेन्ट उत्पादन हुन सफल भएको थियो । 


लामो समयपछि लय समातेको उद्योग विश्वभर फैलिएको कोरोना कहरले पुनः थला परेकै बेला उद्योगको लगाम समात्न न्यौपाने आईपुगेका छन् । नयाँ जिएमको जिम्मेबारीलाई न्यौपानेले  कसरी उद्योग सुधारेर देखाउँछन् त्यो प्रतिक्षाको विषय बनेको छ । उसो त व्यवस्थापकीय क्षमता प्रदर्शन गर्न सके उद्योगमा अहिले पनि केही नबिग्रेको कर्मचारी मजदुर बताईरहेका छन् । पौडेलले जस्तै सामान्य प्रयास मत्र गरे पनि उद्योग केही वर्षमै लय समात्न सक्ने अवस्थामा रहेको मजदुर कर्मचारीले दावी गरेका छन् ।