७ जना फरार अभियुक्त पक्राउ

२0७७ पुष २१ मंगलवार
७ जना फरार अभियुक्त पक्राउ

उदयपुर

उदयपुर प्रहरीले बिभिन्न मितिमा अपराध गरी फरार रहँदै आएका एकैघरका ४ सहित ७ जनालाई मंगलबार पक्राउ गरेको छ । अपराध कसुरमा अदालतबाट दोषी प्रभाणित भए पनि फरार रहेका अभियुक्तहरुलाई प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको हो । 


पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १३ का एकैघरका ४ दाजुभाई छन् । उनीहरुमाथि कुटपिट मुद्धामा अदालते जनही १ सय रुपैया जरिवाना गर्नेगरी जिल्ला अदालत उदयपुरले २०७३ साल असोज ५ गते फैसला गरेको थियो । अदालतले सजाय तोके पनि फरार उनी ३२ वर्षीय थापा भन्ने मिथुन चौधरी, उनका भाइहरु २७ वर्षीय जयराम चौधरी, २५ वर्षीय गोरे भन्ने हरेराम चौधरी र २३ वर्षीय काले भन्ने श्यामलाल चौधरी पक्राउ परेका हुन् । 


उनीहरुसँगै १३ नं. कै ३१ वर्षीय गोबिन्द भन्ने अविनाश चौधरी पनि पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन् । प्रहरीले मंगलबारै लागुऔषध र बहुबिबाह मुद्धाका दुईजनालाई पनि नियन्त्रणमा लिएको छ । लागुऔषध अभियोगमा ०७५ भदौ १२ गतेको इजलासबाट अदालतले २४ दिन कैद र २ हजार रुपंैया जरिवानाको सजाय तोकिएका त्रियुगा नगरपालिका ६ जलजलेका २५ वर्षीय राजन रानामगर पक्राउ परेका हुन् ।


त्यसैगरी २०७६ माघ २ गतेको अदालती फैसला अनुसार बहुबिवाह मुद्धामा ११ महिना ५ दिन कैद र १० हजार रुपंैया जरिवाना तोकिए पनि भाग्दै आएकी त्रियुगा नगरपालिका ६ कै ३१ वर्षीया यसोमतिकुमारी चौधरी पनि मंगलबारै पक्राउ परेकी छिन् । 


पक्राउ सबैलाई फैसला कार्यान्वयनका लागि मंगलबार दिउँसो जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।