वागेश्वरी सामुदायिक वनमा भट्टराई

२0७७ पुष २१ मंगलवार
वागेश्वरी सामुदायिक वनमा भट्टराई

चुहाडे (उदयपुर)


त्रियुगा नगरपालिका ७ को वागेश्वरी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा राजनप्रसाद भट्टराई चयन भएका छन् । समूहको भर्खरै सम्पन्न अधिवेशनले भट्टराईलाई निर्वाचन प्रक्रियामार्फत अध्यक्ष चयन गरेको हो । 


सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी स्पर्धा गर्दा चन्द्रबहादुर कार्कीलाई २४ मतको फरकले पराजित गर्दै भट्टराई अध्यक्ष छानिएको निर्वाचन समिति संयोजक अम्बरबहादुर दनुवारले बताए । भट्टराईले १ सय ९९ मत पाएर निर्वाचित हुँदा प्रतिस्पर्धी कार्कीलाई १ सय ७५ मत प्राप्त भएको दनुवारले बताए । 


४ सय ६८ मतदाता रहेको समूहमा ४ सय ११ मत खसेकोमध्ये ३२ मत वदर भएको निर्वाचनबाट उपाध्यक्ष डिकबहादुर कार्की, सचिव रेखा चौधरी, सहसचिव टंकबहादुर मगर र कोषाध्यक्षमा मन्जु भट्टराई निवाचित भएका छन् । उपाध्यक्ष, सचिव, सहसचिव र ३ सदस्य निर्विरोध निर्वाचित भएको भेलाले अध्यक्ष र , कोषाध्यक्षमा भने भारी प्रतिस्पर्धा भएको संयोजक दनुवारले बताए । 


प्रतिस्पर्धी कमला बिकलाई ४३ मतान्तरले पछि पार्दै मञ्जु भट्टराई , कोषाध्यक्ष निर्वाचित भएकी हुन् । उनलाई २ सय ३ मत प्राप्त हुँदा विकले १ सय ६० मत ल्याएकी थिईन् । बिना प्रतिस्पर्धा सदस्य बन्नेहरुमा सुन्तलीकुमारी राउत, रेणु चौधरी र मीरा खत्री छानिएका छन् । 


वडाध्यक्ष भीमबहादुर पुलामी मगरको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा देउरी रेन्जपोष्टका रेन्जर बाबुराम फुयाँल र प्रहरी चौकी चुहाडेका प्रहरी सहायक निरीक्षक (असई) विजय परियारलगायत आम उपभोक्ताको सहभागिता रहेको थियो ।