बेलका नगरद्वारा छात्रालाई साईकल बितरण

२0७७ पुष २0 सोमबार
बेलका नगरद्वारा छात्रालाई साईकल बितरण

रामपुर


उदयपुरको बेलका नगरपालिकाले सबभन्दा पुरानो विद्यालय कोसी माविका झण्डै ४ दर्जन विद्यार्थीलाई निशूल्क साईकल प्रदान गरेको छ । छात्राहरुलाई स्कुल आउजाउ गर्न सजिलो पार्ने उदेश्यले साईकल वितरण गरेको विद्यालयले जनाएको छ । 


प्रधानाध्यापक सूर्यनारायण साहले विद्यालयका ४५ जना छात्रालाई नगरपालिकाको सहयोगमा साईकल बितरण गरिएको बताए । सोमबार आयोजित एक कार्यक्रममा नगरप्रमुख दुर्गाकुमार थापा, उपप्रमुख राजकुमारी चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले छात्राहरुलाई साईकल बितरण गरे । 


कार्यक्रममा नगरप्रमुख थापाले टाढाटाढाका विद्यार्थीलाई पढ्न आउन र घर फर्कन सहज पार्ने उदेश्यले नगरपालिकाको आर्थिक सहयोगमा साईकल बितरण गरिएको बताए । यसले टाढाटाढा घर भएका छात्राहरुलाई स्कुल पढ्न आउने सहज बनाउने अपेक्षा मेयर थापाले गरे ।


साईकल बितरण कार्यत्रमसँगै विद्यालयको दुईतले शैक्षिक भवनको सिल्यान्यास सोमबार नै गरियो । विद्यालय व्यवस्थापन समितिले अमानतमा उपभोक्ता समिति गठन गरेर बनाउन लागेको ४ कोठे भवनको लागत मूल्य ४३ लाख रहेको छ । जसमा बेलका नगरपालिकाले ३६ लाख अनुदान दिएको छ भने लागत सहभागितावापत विद्यालयले ७ लाख लगानी गर्ने अध्यक्ष बस्नेतले बताए । 


अध्यक्ष बस्नेतले विद्यालयलाई सुविधा सम्पन्न बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्न भौतिक पूर्वाधारयुक्त बनाउँदै लाने उदेश्यले नयाँ भबन बनाउन लागिएको बताए । नगरपालिकाको सबभन्दा पुरानो र अगुवा विद्यालय कोसी माविलाई उत्कृष्ट शिक्षण संस्था बनाउन नयाँ भवनले सहयोग गर्ने अपेक्षा अध्यक्ष बस्नेतले गरे ।


कार्यक्रममा विद्यालयका विद्यालयलाई सहयोग गर्दै आएका पूर्व अध्यक्षहरु र बिभिन्न सामाजिक अगुवालाई दोसल्ला र सम्मानपत्र प्रदान प्रदान गरिएको थियो । कक्षा ११ का भर्ना हुन आएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको कार्यक्रममा कक्षा १२ उत्तिर्ण विद्यार्थीलाई बिदाई गरिएको थियो ।