बहुबिबाह आरोपमा फरार अभियुक्त पक्राउ 

२0७७ पुष १९ आईतवार
बहुबिबाह आरोपमा फरार अभियुक्त पक्राउ 


उदयपुर

एकवर्षअघि अदालतबाट कसुरदार सावित भए पनि फरार रहेका उदयपुरका एक अभियुक्त पक्राउ परेका छन् । बहुबिबाह आरोपमा जिल्ला अदालतले दोषी करार गरे पनि पनि भाग्न सफल त्रियुगा नगरपालिका ६ का ३३ वर्षीय जीवन भन्ने रत्नबहादुर कार्की पक्राउ परेका हुन् । 


जिल्ला अदालतले ०७६ साल माघ २ गते बहुबिबाह आरोपमा ११ महिना ५ दिन कैद तथा १० हजार जरिवाना सुनाए पनि भाग्दै आएका कार्कीलाई आईतबार विहान ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । फरार सूचीमा रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो । 


घरमै लुकिछिपी बसेको भन्ने सुराकीका आधारमा जलजलेस्थित आफ्नै घरबाट कार्की पक्राउ गरेको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । उनका अनुसार पक्राउ कार्कीलाई फैसला कार्यान्वयनका लागि आईतबारै जिल्ला अदालत उदयपुरमा बुझाइएको छ ।