कोविड कहरमा पनि आयल निगम १३ अर्ब नाफामा

२0७७ पुष १९ आईतवार
कोविड कहरमा पनि आयल निगम १३ अर्ब नाफामा

उदयपुर

नेपाल आयल निगमले पाईपलाईनबाट इन्धन भित्र्याउन थालेपछि एकवर्षमा डेढ अर्व खर्च कटौती भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म गतवर्ष जोडिएको पाइपलाइनबाट इन्धन ढुवानी  थालेपछि निगमलाई सो खर्च कटौती भई आर्थिक व्ययभार घटेको हो । 


उदयपुर सिमेन्ट उद्योग लि. जलजलेका तत्कालीन महाप्रबन्धक (जिएम) सुरेन्द्रकुमार पौडेल नयाँ कार्यकारी अध्यक्ष भएर निगम भित्रिएपछि यसअघि हुँदै आएको तेल चुहावट, प्रदुषण र ढुवानीमा ढिलासुस्ती रोक्ने योजना अनुरुप निगमले मोतिहारीदेखि अमलेखगञ्जसम्म पाईपलाईनबाट तेल ढुवानी गर्न थालेको थियो । कार्यकारी अध्यक्ष नियुक्त भएको वर्षदिनभित्रै पाईपलाईनबाट तेल ढुवानी योजना कार्यान्वयनमा ल्याएका पौडेलले निगमलाई हाल एकपछि अर्को सुधारको योनजा अघि सारेको बताएका छन् । 


पाइपलाइनबाट इन्धन आपुर्ति गर्न थालेपछि १ वर्षमा १ अर्ब ४७ करोड रुपैयाँ ढुवानी खर्च जोगिएको उनले बताए । यो खर्च कटौती गाडीबाट इन्धन ढुवानी गर्दा लाग्ने भाडा मात्र हो । पाइपलाइनबाट ल्याउन थालेपछि निगमको इन्धन ढुवानी र अन्य खर्च जोड्दा वर्षमा २ अर्ब ५० करोडसम्म खर्च हुने गरेकोमा अहिले त्यो सबै खर्च कटौती भएको पौडेलले बताए । 


१ वर्ष ३ महिनाअघिदेखि सुरु भएको पाईपलाईनबाट इन्धन ढुवानी कार्यबाट  ७८ करोड लिटर डिजेल ढुवानी भईसकेको निगमले जनाएको छ । निगमका अनुसार पाइपलाइनबाट वार्षिक २० लाख हजार किलोलिटर इन्धन ढुवानी गर्न सक्ने क्षमता छ । 


पाईपलाईनबाट इन्धन ढुवानी गर्न थालेकै कारण विश्वव्यापी कोरोना माहामारीमासमेत नेपालमा इन्धनको खाँचो पर्न नपाएको निगमले जनाएको छ । कोविडका कारण विश्वका सबै क्षेत्र प्रभावित भएका बेला लकडाउन लागेपछि नेपाल-भारत आउजाउसमेत रोकिएको थियो । यस्तो बेलामा गाडीबाट ढुवानी गर्नु परेको भए नेपालमा इन्धनको हाहाकार हुने थियो । तर, पाईपलाइनबाट ल्याउने व्यवस्था भएकाले लकडाउनभरी कहिल्यै यन्धनको खाँचो नेपालमा पर्न नदिएको पौडेलले बताए । 

निगमले आर्थिक वर्ष २०७६/७७ मा खुद नाफा १२ अर्ब ८७ करोड रुपैयाँ गरेको जनाएको छ । कोविडका कारण सुरुका ३ महिना इन्धन विक्री नभएकाले नाफा यति मात्र हुन गएको निगमले जनाएको छ । कोविड नभएको भए २५ अर्बभन्दा बढी नाफा हुने प्रक्षपण गरिएको थियो । 


वर्षौंदेखि घाटा सहदै आएको उदयपुर सिमेन्ट उद्योग लि. पौडेल जिएम रहँदा नाफामा गएको थियो । घाटा लागेर टाट पल्टदै गएपछि सरकारले नीजिकरण गर्ने निर्णय गरिसकेका बेला उद्योगको लगाम समात्न आईपुगेका पौडेलले दुईवर्षमै उद्योगलाई आत्मनिर्भर बनाउँदै नाफामा लगेका थिए । जापान सरकारको सहयोगमा स्थापित उद्योगको दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमता भएकोमा उनले ९ सय टनसम्म उत्पादन गरेर किर्तीमान कायम गरेका थिए । 


उद्योगको ३ वर्षे कार्यकाल सकिन नपाउँदै उनलाई सरकारले आयल निगमको कार्यकारी अध्यक्षमा नियुक्ति गरेको थियो । अध्यक्ष नियुक्त भएदेखि नै बिभिन्न सुधारका योजना थालेका उनले कोविड कहरमासमेत निगमलाई नाफामा लान सफल भएका हुन् । उनले इन्धनमा चुहावट, चोरी तस्करी नियन्त्रण गर्न निगमलाई छिटै पूर्ण डिजिटलाईज्ड गर्ने योजना अघि सारेर कार्यान्वयनको प्रक्रियामा अघि बढिसकेको बताएका छन ।