भुट्टार, पोखरी र तावाश्री ‘बालमैत्री’ बन्दै

२0७७ पुष १७ शुक्रबार
भुट्टार, पोखरी र तावाश्री ‘बालमैत्री’ बन्दै

उदयपुर

रौतामाई गाउँपालिकाका २ र उदयपुरगढीको १ गरी ३ वटा वडालाई बालमैत्री घोषणा गर्ने तयारी सुरु भएको छ । आउँदो भदौभित्र बालमैत्री घोषणा गर्नेगरी रौतामाई गाउँपािलका २ को भुट्टार र ४ को पोखरी तथा उगापा १ को तावाश्रीमा बाल अधिकारसम्बन्धी कार्यक्रम तिब्र पारिएको छ । 


वडालाई बालमैत्री घोषणा गर्नका लागि बाल अधिकारको क्षत्रमा क्रियासिल जाल्पा एकीकृत विकास समाज (जिड्स)उदयपुरले भर्खरै ३ दिने ‘बालमैत्री स्थानीय शासन कार्यक्रम’ सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । बालमैत्री घोषणा गर्न आवश्यक सूचकहरुबारे सरोकारवालालाई जानकारी गराउने उदेश्यले गाईघाटस्थित हिमालयन होटलमा ‘बालमैत्री पुनर्ताजगी तालिम’ आयोजना गरिएको जिड्सका अध्यक्ष पुष्पराज पोखरेलले बताए । 

 


पोखरेका अनुसार यी ३ वटा वडालाई सन् २०२१ सेप्टेम्बरभित्र बालमैत्री घोषणा गर्ने तयारी गर्दै दीगो र स्थायीरुपले बालअधिकारको संरक्षण र संबद्र्धन गर्ने लक्ष्य प्राप्त गर्न तालिम आयोजना गरिएको हो । बालमैत्री वडा घोषणा गर्न सरोकारवालाहरुलाई आवश्यक जानकारी दिलाउन आयोजित तालिम शुक्रबार सम्पन्न भएको छ । बालमैत्री स्थानीय शासनविज्ञ मबिन घलेको सहजीकरणमा भएको तालिममा बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न आवश्यक ३९ वटा सूचकहरुबारे जानकारी दिइएको थियो । 


बालमैत्री स्थानीय शासन कार्यान्वयनका चरणहरु, घोषणाका लागि आवश्यक उपक्रमहरु, स्थानीय योजना तर्जुमा प्रक्रिया र बालभेला तथा यसमा सरोकारवालाहरुले खेल्नुपर्ने भूमिकाबारे पनि विज्ञ घलेले सहभागीहरुसँग बृहत छलफल गरेका थिए । जिड्सको आयोजना, वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारी र गाउँपालिकाको सहकार्यमा तालिम सम्पन्न गरिएको जाल्पाका कार्यक्रम संयोजक अजय साहले बताए । 


तालिम समापनमा बोल्दै रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले बाल अधिकारको सवालमा आफु जहिल्यै स्पष्ट रहेको बताए । उनले आजका बालबालिका भोलिका कर्णधार भएकाले उनीहरुको हकअधिकारको रक्षा गर्दै सुन्दर भविष्यका लागि गाउँपालिका सचेत भएर अघि बढ्दै गरेको बताए । रौतामाईका २ वटा वडा यसैवर्ष बालमैत्री घोषणा हुने तयारीप्रति खुसी व्यक्त गर्दै उनले साझेदार संस्था जिड्स र सहयोगी निकाय वल्र्डभिजनप्रति धन्यबाद व्यक्त गरे ।

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुमारी रानाज्यु ठकुरीले बालबालिकाको हक अधिकारका लागि सबैपक्ष सचेत हुनुपर्ने भन्दै जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक सबैपक्ष बाल अधिकारप्रति संवेदनसिल हुनुपर्ने बताईन् । त्यसका लागि आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकामा कहिल्यै नचुक्ने नउको प्रतिबद्धता थियो ।


रौतामाई २ का वडाध्यक्ष खवीन्द्र रास्कोटीले बालमैत्री वडा घोषणाका लागि अघिल्लो वर्षदेखि तयारी थालेको भए पनि कोविड महामारीले गर्दा अहिले आएर घोषणा गर्नेगरी तयारी थाल्नु परेको बताए । बालमैत्री स्थानीय शासन प्रबद्र्धन गर्न वडाध्यक्षको नाताले गर्नुपर्ने सबैखाले काम गर्न प्रतिबद्ध रहेको भनदै उनले आवश्यक बजेट तर्जुमा गर्न गाउँपालिका र वडा तयार रहेको जनाए । 

 

तालिममा ३ वटै वडाध्यक्ष, वडास्थित बालअधिकार समितिका संयोजकहरु, वडा बालमैत्री स्थानीय शासन सम्बन्धी फोकल पर्सनहरु तथा गाउँपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुखहरुको सहभागिता रहेको जिड्सका कर्मचारी पदम एसकेले बताए ।