मुख्यमन्त्री राईद्वारा उद्यौली, तमु ल्होसार, धान्य पूर्णिमा र योमरी पुन्हिको शुभकामना

२0७७ पुष १५ बुधबार
मुख्यमन्त्री राईद्वारा उद्यौली, तमु ल्होसार, धान्य पूर्णिमा र योमरी पुन्हिको शुभकामना

विराटनगर

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किँरात समुदायको महान चाड साकेला (उद्यौली), साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर, कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातिको तमु ल्होसार, धान्य पूर्णिमा र योमरी पुन्ही २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । 

 

बुधबार विहान शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यहाँ मनाउने उद्यौली, चाक्चाकुर, तमु ल्होसार, धान्यपूर्णिमा, योमरी पुन्हीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेका छन् । 

 

यस प्रकारका मौलिक साँस्कृतिक चाड पर्वहरुले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेको शुभकामना सन्देशमा उल्लेख छ । धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य रहेको मुख्यमन्त्री राईको भनाई छ ।

 

मुख्यमन्त्री राईले सुरक्षित र सजगता अपनाएर चाडपर्व मनाउनसमेत आग्रह गरेका छन् । विगत वर्षहरुमा हर्षाेल्लासका साथ मनाउँदै आएका हाम्रा चाडपर्वहरु कोरोना भाइरसका कारण यसवर्ष असहज र अप्ठ्यारो परिस्थितिमा मनाउनु परेको भन्दै कोविडको बढ्दो संक्रमणबाट बच्न जो जहाँ छौं, त्यही बसेर सुरक्षित तवरले चाडपर्व मनाउन अनुरोध गरेका छन् । 

 

यी पर्वले नेपालका सबै जातजातिलाई एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना मुख्यमन्त्री राईले जारी गरेको सन्देशमा उल्लेख छ ।