उधौली र ल्होसारमा स्थानीयतहको सार्वजनिक विदा

२0७७ पुष १५ बुधबार
उधौली र ल्होसारमा स्थानीयतहको सार्वजनिक विदा

उदयपुर

पुस १५ गते पर्न गएको नेपाली आदिवासी जनजातिहरुको साकेला उधौलीलगायत पर्वको अवसरमा उदयपुरका स्थानीयतहहरुले सार्वजनिक विदा दिएका छन् । किराती समुदायको दोस्रो ठूलो पर्व उधौली (छिरीनाम) तथा नेवार समुदायको योमरी पुन्ही, गुरुङको तमु ल्होसार, धान्य पूर्णे र ज्यापु दिवसको अवसरमा सार्वजनिक विदा दिइएको हो । 


विगत वर्षमाजस्तै यसवर्ष पनि जिल्लाका लिमचुङबुङ गाउँपालिका र चौदण्डीगढी नगरपालिकाले मंगलबारै सूचना जारी गरी पुस १५ गते एकदिन सार्वजनिक विदा दिएका हुन् । सूचनामा महान् पर्वको अवसरमा सबै वडा तथा विषयगत कार्यालय र शैक्षिक संस्थाहरु बन्द रहने जानकारी दिइएको छ । साथै कोविडको जोखिम अझै कायमै रहेकाले सुरक्षा सावधानी अपनाउँदै पर्व मनाउन गाउँ तथा नगरबासीलाई आग्रह गरिएको छ । 


लिगापा अध्यक्ष मेजरकुमार राई र चौनपा नगरप्रमुख खगेन्द्र राईले किरात समुदायको उधौली, नेवार समुदायको योमरी, तमुको ल्होसार तथा ज्यापु दिवसमा सबै गाउँ तथा नगरबासीसँगै देश तथा विदेशमा रहेका सबै आदिबासी जनजाति र नेपालीजनमा सुख, शान्ति, समृद्धिर उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । 


त्यसैगरी राष्ट्रपति विद्या भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । 


यस अवसरमा इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यस पर्वले पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने जनाउँदै उनले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वागस उनले व्यक्त गरेकी छन्।


प्राकृतिक ऋतुचक्रसँग एकाकार भई मनाइने उधौली पर्वले प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा दिन सकोस् भनी राष्ट्रपतिले शुभकामना पनि प्रकट गरेकी छन्।  


उधौली पर्वका अवसरमा पितृ र प्रकृतिपूजक किराँत समुदायभित्रका राई, लिम्बू, सुनुवार र याख्खाहरूले मानिस, जीवजन्तु तथा पशुपक्षी लेकबाट बेँसीतिर बसाई सर्ने समयमा पाकेको नयाँ अन्नबाली आफ्ना पितृलाई चढाउने र राम्रो फसलका लागि धन्यवाद दिँदै अन्नबाली फारोतिनो होस् भन्ने कामनासहित भूमिको पूजा गर्छन्। साथै यस पर्वका अवसरमा किराँत महिला र पुरुषहरू खुला आकाशमुनि ढोल र झ्याम्टा बजाएर चराचुरूङ्गी, जीवजन्तुको हाउभाउ एवं मानिसका विभिन्न क्रियाकलापको अनुकरण गर्दै सामूहिक रूपमा  ‘साकेला’ नृत्य गर्ने परम्परा छ।  


राष्ट्रपति भण्डारीले गुरुङको तमु ल्होसार र नेवारको योपरी पुन्ही पनि आजै परेको भन्दै ती समुदायलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन्। उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेकीछिन् । 

 

यसैबीच उधौलीको अवसरमा किरात राई यायोक्खाले देशव्यापी पितृ (भूमि) पुजा तथा सदभावना आदान प्रदान कार्यक्रम आयोजना गरेको जनाएको छ । यायोक्खा जिल्ला समिति उदयपुरको आयोजनामा सबै स्थानीयतह र वडाहरुमा पुजा  र भेटघाट कार्यक्रम राखेको छ । त्रियुगा नगर प्रारम्भिक कमिटीले गाईघाट साकेलाथानस्थित किरात सांस्कृतिक भवन परिसरमा विहानै पितृ पुजा तथा सदभाव आदान प्रदान कार्यक्रम राखेको जनाएको छ । 


त्यस्तै बेलटार, बसाहा, कटारी, जोगीदह, हडिया, रामपुर, मैनामैनी, देउरी, जलजले, दमौटी, श्रीपुर र पहाडी गाउँपालिकाका बिभिन्न वडामा पितृ पुजा कार्यक्रम आयोजना गरिएको यायोक्खा उदयपुरका अध्यक्ष बलधन राईले बताएका छन ।