संसद विघटनले देश अँध्यारोतिर धकेलियोः नेता राई

२0७७ पुष १४ मंगलवार
संसद विघटनले देश अँध्यारोतिर धकेलियोः नेता राई

उदयपुर

नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिव सुरेशकुमार राई (हिमाल)ले संसद विघटनपछि देश अँध्यारो सुरुङतर्फ धकेलिएको भन्दै त्यसको बचाउका लागि संसद पुनस्र्थापना हुनै पर्ने बताएका छन् । मंगलबार नेकपा प्रचण्ड–माधव समूहको आयोजनामा सदरमुकाम गाईघाटमा सम्पन्न विरोधसभालाई संबोधन गर्दै नेता राईले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदम कम्युनिष्ट आन्दोलनै विघटन भएको लगाए । 


उदयपुरबाट प्रतिनिसिभा सदस्यसमेत रहेका सांसद राईले कुनै हालतमा मध्यावधि निर्वाचन नहुने ठोकुवा गर्दै नयाँ जनादेशका लागि संसद विघटन गरेको भने पनि ओली नयाँ लेन्डुप दोर्जे बन्न चाहेको आरोप लगाए । ओलीको संवैधानिक ‘कु’विरुद्ध नेकपाको संस्थापनपक्षसँगै देशका सबै विपक्षी दलहरु देशव्यापी आन्दोलनमा उत्रिएको भन्दै नेता राईले अदालतले संसद पुनस्र्थापना नगरे सडक आन्दोलनबाटै गरी छाड्ने बताए । संसद पुनस्र्थापना नभए ६ महिनाभित्र प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गरेर देशमा अराजनीतिक व्यक्तिको हातमा सत्ता जाने गम्भीर षडयन्त्र भईरहेको खुलासा उनले गरे । 


‘संसद पुस्र्थापना हुनै पर्छ, सर्वोच्च अदालतले गरेन भने सडक संघर्षबाटै जनताले पुनस्र्थापना गरिछाड्छन्’ राईले भविष्यबाण्ी गरे ‘यदि पुनस्र्थापना भएन भने ओली प्रधानमन्त्री त रहँदैनन नै, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले सत्ता कब्जा गरेर देशमा प्राप्त संघीयता, गणतन्त्र र परिवर्तनका सम्पूर्ण उपलब्धीलाई समाप्त पार्ने खतरा छ ।’ प्रधानन्यायाधीशको कार्यकाल एकवर्ष बाँकी रहदै चोलेन्द्रले केही समयअघि आफु पद छाड्न चाहेको प्रशंग स्मरण गराउँदै नेता राईले सत्ता हातमा लिएर जनमत संग्रहमार्फत प्राप्त उपलब्धी र परिवर्तन समाप्त गर्दै देशलाई पश्चगमनतर्फ धकेल्ने गम्भीर षडयन्त्रमा केपी ओली फसेको आरोप लगाए । 


अर्का केन्द्रीय सदस्य तथा पूर्व सांसद जगन्नाथ खतिवडाले पार्टी एकीकरणदेखि नै अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले विधि, नीति र पद्धतिको बर्खिलाप गर्दै आएको र अन्ततः कम्युष्टि आन्दोलनलाई नै समाप्त पार्ने पश्चगामी कदम चालेको आरोप लगाए । पार्टीका अन्य नेताहरुले अनुशासन, पार्टी सञ्चालन विधि र पद्धति लागु गर्न अनुरोध गर्दा सनकको भरमा संसद विघटन गरेर दुईतिहाई बहुमतको जनादेशमाथि लात हानेको आरोप खतिवडाको थियो । संसद पुनस्र्थापना गर्नका लागि नेकपाले देशव्यापी सडक संघर्ष थालेको बताउँदै नेता खतिवडाले नेकपाजस्तो ठूलो पार्टीका अध्यक्ष ओली स्वयंले पार्टी विधान, नीति र पद्धतिको उल्लंघन गर्दा ७ दशक लामो नेपाली कम्युनिष्ट आन्दोलन धरासायी हुने खतरा बढेको बताए । 


संसद विघटनको कदमले देशमा राजनीतिक अस्थीरता सुरु भएको र कम्युष्टि आन्दोलन दशकौं पछि परेको भन्दै खतिवडाले त्यो निर्णय सच्याउन संसद पुनस्र्थापना र पार्टी एकता जरुरी रहेकोमा जोड दिए । संसद पुनस्र्थापना नै लोकतन्त्र, संघीयता र गणतन्त्र बचाउने एक मात्र उपाय भएको भन्दै उनले सम्पूर्ण जनताले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।


अर्का केन्द्रीय सदस्य तथा नेकपा जिल्ला इन्चार्ज बलदेव चौधरीले प्रधानमन्त्री ओलीले चालेको पश्चगामी कदमको भत्र्सना गर्दै संसद पुनस्र्थापना र पार्टी एकताको पक्षमा तमाम नेता कार्यकर्ता अहिले पनि एकताबद्ध रहेको बताए । जनताले दिएको दुईतिहाई नजिकको विशाल जनमतको कदर गर्नुपर्नेमा बलात र हठात संसद विघटन गरेर आलीले प्रतिगमन र पश्चगमनलाई फाईदा पुर्याएको उनले बताए । सम्मानित अदालतबाट संसद पुनस्र्थापना हुने अपेक्षा गर्दै चौधरीले त्यसो नभएमा देश अन्धकारतर्फ धकेलिने खतरा रहेको बताए ।


संविधानसभा सदस्यहरु मणि खम्बु र मोहन खत्री (दिपक) तथा प्रदेशसभा सांसदहरु नारायण बुर्जामगर र सुनिता चौधरीले ओलीको कदमलाई असंवैधानिक भन्दै ताजा जनादेश लिने नाममा प्राप्त उपलब्धी गुम्ने र दुईतिहाई नजिकको जनादेश कुल्चने काम गरेको आरोप लगाए । आफुहरुलगायत नेता कार्यकर्तालाई ओलीपक्षले पद, पैसा र अवसरको बिभिन्न प्रलोभन र धाकधम्की दिएर आफुतिर तान्ने हर्कत गर्न खोजेको भन्दै त्यस्तो कार्य निन्दा र भत्र्सनायोग्य भएको टिप्पणी गरे । 


नेकपा जिल्ला कमिटी सचिव इश्वरमणि राउतको सञ्चालन र सचिवालय सदस्य जीवन कार्की (कुशल) को स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष विनोद कटुवाल (दिवस) ले नेकपाको अध्यक्ष र प्रधानमन्त्रीजस्तो सर्वोच्च ओहदामा रहेका बेला केपी ओलीले संसद विघटन गर्नु देश र जनताका लागि मात्र नभएर सिंगो कम्युनिष्ट आन्दोलनप्रति नै गम्भीर धोका भएको बताए । २००६ सालमा स्थापित पार्टीलाई यति ठूलो बनाउदासम्म हजारौं नेता कार्यकर्ताको रगत, पसिना र बलिदानी भईसकेको भन्दै त्यस्तो कम्युनिष्ट आन्दोलनलाई ओलीले क्षणभरमै समाप्त पारेको आरोप अध्यक्ष कटुवालको थियो । ओलीको यो कदम जनघाती र राष्ट्रघाती मात्र नभएर आत्मघातीसमेत भएको भन्दै उनले निन्दा गरेका थिए । 


कार्यक्रम गर्नुअघि निस्केको विशाल र्यालीले गाईघाट बजार परिक्रमा गरेको थियो ।