नेकपाको विरोध प्रदर्शन गाईघाटमा

२0७७ पुष १४ मंगलवार
नेकपाको विरोध प्रदर्शन गाईघाटमा

उदयपुर

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले संसद विघटन गर्दै मध्यावति निर्वाचनको मिति तोकेको विरोधमा देशव्यापी विरोध भईरहेका बेला नेकपा उदयपुरको प्रचण्ड–माधव समूहले आज गाईघाटमा विरोध कार्यक्रम राखेको छ । पुस ५ गते संसद विघटन गरेपछि त्यसै दिनदेखि प्रचण्ड–माधव समूहको नेकपाले विरोधमा आन्दोलन गर्दै आएको छ । 


जस अनुसार देशव्यापी गाईघाटमा आज ५ हजार जनसहभागिता जुटाउने नेकपा  उदयपुरले जनाएको छ । ओलीले पार्टी विधान, नीति, विधि र पद्धतिविरुद्ध पार्टी चलाएको तथा संविधानमै व्यवस्था नभएको संसद विघटन गरेर देशलाई अस्थीरतातर्फ धकेलेको भन्दै देशभर आन्दोलनको आँधीवेहरी सिर्जना गर्ने जनाएको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्षबाट कारबाहीसमेत गरिसकेको छ । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा प्रदेश १ सचिव सुरेशकुमार राई (हिमाल), केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलदेव चौधरी, केन्द्रीय सदस्य जगन्नाथ खतिवडालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ । 


कार्यक्रमको पूर्वसन्ध्यामा सोमबार साँझ नेकपाले गाईघाट बजारमा मोटरसाईकल र्याली आयोजना गरेको थियो । त्यस्तै आईतबार कटारीमा पनि नेकपाले ओलीविरुद्ध प्रदर्शन गरेको थियो ।  उता ओलीपक्षले केन्द्रदेखि जिल्ला हुँदै स्थानीयतहसम्म कार्यकर्तालाई आफ्नो पक्षमा तान्ने क्रम जारी राखेको छ । नेता कार्यकर्तालाई आफ्नो पक्षमा पार्न पार्टी एकीकरणताका ४ सय ४८ सदस्यीय केन्द्रीय समितिलाई संसद विघटनपछि ओलीले उदयपुरका ७ जनासमेत १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय समिति तथा महाधिवेशन आयोजक समिति गठन गरेको छ । 


नेकपाका ४ सय ४८ केन्द्रीय सदस्यमा ७ जनाको मृत्युपछि बाँकी ४ सय ४१ मध्ये ३ सय १५ जना आफुतिर रहेको प्रचण्ड–माधव समूहको दावी छ । उसले सोही अनुसार निर्वाचन आयोगमा चुनाव चिन्द दावी गर्दै संसदीय दलमा पनि बहुमत भएको भन्दै अदालतमा मुद्धा दिएको छ । उता ओलीले प्रचण्ड–माधव समूहमा गए पनि उनीहरुलाई कारबाही नगरी आफ्नो पक्षधरलाई केन्द्रीय सदस्य थपेर बहुमत भएको दावी गरिरहेको छ ।