शेरधनविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेमाथि स्पष्टिकरण माग

२0७७ पुष १३ सोमबार
शेरधनविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेमाथि स्पष्टिकरण माग

विराटनगर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । सोमबार संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्ताव पेश गर्ने सांसदहरुलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएका हुन् । 


संसदीय दललाई जानकारी नगराई नै संसद सचिवालयमा आईतबार विहान मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने ३७ सांसदलाई स्पष्टिकरण मागिएको प्रमुख सचेतक राजभण्डारीले बताए । संसदीय दलमा छलफल नगरी प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेकाले प्रस्ताव फिर्ता लिएर स्पष्टिकरण पेश गर्न पत्राचार गरिएको उनले बताए । 

 
प्रमुख सचेतक राजभण्डारीले सांसदहरुलाई पठाएको पत्रको व्यहोरा यसप्रकार छ । 

१ नं. प्रदेशसभामा तत्कालीन नेकपा (एमाले) को संसदीय दलमा निर्बाचनको प्रक्रियाबाट दलको नेतामा माननीय शेरधन राई निर्वाचित भई तत्कालीन चुनाबी गठबन्धनमा सहभागी दल नेकपा (माओबादी केन्द्र)को संसदीय दलकोसमेत सर्मथनमा संविधान बमोजिम मुख्यमन्त्रीमा नियुक्त भई प्रदेश सरकार गठन भएको कुरा अवगतै छ । चुनाबी गठबन्धनमा रहेका दुईवटा साविक दलहरु २०७५ जेठ ३ गते एकतामा रुपान्तरित भएपश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलबाट पुनः सर्बसम्मत दलको नेतामा मुख्यमन्त्री माननीय शेरधन राई चुनिनु भई प्रदेश सरकार संविधान कानुन बमोजिम कार्यसम्पादन गरिरहनुभएको छ ।


नेकपा संसदीय दल, दलले पारित गरेको बिधान बमोजिम चल्छ र चलिरहेको कुरा सबै दलका सदस्यहरुलाई अवगत नै छ । तर आफ्नो दल र दलका नेतालाई जानकारी नदिई दलका सदस्य इन्द्र बहादुर आङ्बो प्रस्तावक र दलका सदस्य लछुमन तिवारी सर्मथक भई तपाईकोसमेत हस्ताक्षरमा मिति २०७७÷०९÷१२ गते बिहान १०ः५५ बजे आफ्नै दलका नेता र मुख्यमन्त्री विरुद्व अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गर्नु भएको कुरा जानकारीमा आएकोले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानुनी ब्यवस्था तथा पार्टीको संसदीय दलको बिधान २०७६ को भाग ६ दफा २४ को (क) (ख) (ग) (च) (छ) आकर्षित भई बिधानको दफा २६ (ग) को देहाय (१) (२) (४) र (५) बमोजिम तपाईलाई कार्बाही किन नगर्ने ? तर्सथ पत्र प्राप्त भएको २४ घण्टा भित्र उक्त अबिश्वासको प्रस्ताब फिर्ता गरी लिखित स्पष्टीकरण पेश गर्न दलका नेताको निर्देशन बमोजिम पेश गर्न निर्देश गरिएको छ ।  अन्यथा संविधान, राजनीतिक दल सम्बन्धी ऐन, कानुन र दलको बिधान बमोजिम कार्बाही भई जाने ब्यहोरा अवगत गराउँदछु ।