लागुऔषध उदयपुर भित्र्याउने सिराहाका युवा पक्राउ

२0७७ पुष १३ सोमबार
लागुऔषध उदयपुर भित्र्याउने सिराहाका युवा पक्राउ

उदयपुर

छिमेकी जिल्ला सिराहाका एक युवा भारी मात्रामा अवैध लागुऔषधसहित उदयपुरमा पक्राउ परेका छन् । बिभिन्न ३ प्रकारका ६९ थान प्रतिबन्धित लागुऔषध लिएर सदरमुकाम गाईघाट आउँदै गरेको अवस्थामा सिराहाको नवराजपुर नगरपालिका ७ भवतिपुर तामासुईयाका २४ वर्षीय पवन चौधरीलाई नियन्त्रणमा लिइएको हो ।


सिराहाबाट लागुऔषध लिएर गाईघाट आउँदै गरेको भन्ने सुराकीका आधारमा खटेको जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले उदयपुर र सप्तरीको सीमा त्रियुगा नगरपालिका ६ लालपत्ताबाट चौधरीलाई पक्राउ गरेको हो । नियमित चेकजाँच गर्ने क्रममा चौधरीको कम्मरमा ६९ थान लागुऔषध टेपले बाँधेको अबस्थामा फेला परेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ । 


उनको साथबाट नोर्फिन २३ एम्पुल (थान), प्रमेथाईजिन २३ थान र डाईजेल्याव २३ थान बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । लागुऔषधसँगै २ थान मोवाईल पनि उनको साथबाट बरामद भएको छ । लामो समयदेखि सिराहाबाट उदयपुर ल्याएर लागुऔषध कारोबार र बिक्री वितरण गर्ने गरेको भन्ने सुराकीको आधारमा केही महिनायता पिछा लाग्दै आएको प्रहरीले बल्ल उनलाई पक्रन सफल भएको जनाएको छ । 


चौधरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको जनाइएको छ । पछिल्लो समय दिनहुँजस्तो उदयपुर प्रहरीले लागुऔषध अपराधमा संलग्न भएको आरोपमा पक्राउ गर्दै आएको छ । खैरो हिरोईनलगायत बिभिन्न खाले लागुऔषधका दुव्र्यसनी र कारोबारीहरु दिनहुँजस्तो पक्राउ पर्न थालेको प्रहरीले जनाएको छ । 


जिल्लामा फैलिएको लागुऔषध कारोबार र बिक्रीतविरण तथा दुव्र्यसन नियन्त्रण गर्ने उदेश्यले प्रहरीले थालेको अभियान अन्तर्गत बिभिन्न ठाउँबाट पक्राउ पर्ने गरेको प्रहरी भनाई छ ।