पिजीचोकको बिबाद मिल्यो, माघमित्र गाईघाटको सडक पिच भईसक्ने

२0७७ पुष १२ आईतवार
पिजीचोकको बिबाद मिल्यो, माघमित्र गाईघाटको सडक पिच भईसक्ने

उदयपुर
    

उहिल्यै चिल्लो भईसक्ने गाईघाट सडकमा भर्खर कालोपत्रे (पिच) गर्न थालिएको छ । बजारक्षेत्रमा सडक चौडा गर्ने नगरपालिकाको निर्णयसँगै बिबाद भएर अल्मलिएको काम सहमति जुटेपछि सुचारु भएको हो । 


‘मदन भण्डारी लोकमार्ग’अन्तर्गत पर्ने सदरमुकाम गाईघाटको बरुवाखोला पुलदेखि बोक्से जाने बाटो प्राथमिक आँखा उपचार केन्द्रसम्मको १ किलोमिटर २ सय मिटर खण्डको सडक फराकिलो पार्ने विषयमा बिबाद भएको थियो । बिबादका कारण गएको वैशाखमै पिच गरिसक्ने गरी काम सुरु भए पनि हुन सकेको थिएन । 


नगरपालिका, लोकमार्ग कार्यालय, प्रशासन र निर्माण व्यवसायीबीचको पटक पटकको छलफलबाट अरु ठाउँमा कुरा मिले पनि पुरानो गाईघाट चोक (पिजी चोक)मा केही स्थानीयबची कुरा नमिल्दा काम अवरुद्ध हुन पुगेको थियो । पछिल्लो प्रयासले त्यहाँका सथनीयबीच पनि सहमति भएपछि काम सुचारु भएको लोकमार्ग कार्यालय गाईघाटले जनाएको छ । 


बिबाद मिलेसँगै अवरुद्ध पजीचोकस्थित ५ सय मिटर खण्डको काम शुक्रबारदेखि सुचारु भएको लोकमार्ग कार्यालय प्रमुख (डिई) बेलबहादुर भुजेलले बताए । बिबादका कारण बजारभन्दा पूर्वतर्फ बरुवाखोला पुलदेखि चतारासम्म र पश्चिमतर्फ प्राथमिक आँखा उपचार केन्द्रदेखि कटारीसम्म पिच भईसकेको वर्षदिन बित्दासम्म गाईघाट बजारबासी धुलाम्य हुनु परेको छ । 


नगरपालिकाले तोके अनुसार उत्तर र दक्षिण दुवैतर्फ साविकभन्दा दुई–दुई मिटर जमिन छाड्न स्थानीय सहमत भएपछि २० मिटर सडक पिच हुने गरी काम सुचारु भएको भुजेलले बताए । सहमति अनुसार विद्युतका पोल दुईमिटर सार्ने काम शनिबार सकिएको छ भने नाला बनाउन थालिने छ ।


बिबाद नभएको भए गत वैशाखमै काम सकिने तय भएकोमा कोविडले रोकिएको थियो । कोविडकै बीचमा पनि सहमतिको प्रयास गरेर असारभित्र गाईघाटको सडकलाई चिल्लो बनाईसक्ने डिई भुजेलले बताएका छन् ।