प्रदेश १ का ३ मन्त्रीले राजीनामा दिए 

२0७७ पुष १२ आईतवार
प्रदेश १ का ३ मन्त्रीले राजीनामा दिए 

उदयपुर

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको बाछिटाले सबै प्रदेश सरकारलाई छुने आँकलन सही सावित हुन थालेको छ । गत ५ गते ओलीबाट भएको संसद विघटन र आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने मितिलाई राष्ट्रपटिबाट स्वीकृत गरेको सातादिन नपुग्दै प्रदेश १ सरकार प्रभावित भएको छ । 


संसद विघटनपछि ओली र प्रचण्ड-माधव समूहबीच नेता कार्यकर्ता तानातान गर्ने क्रम चलिरहेको छ ।  यसैबीच प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको आरोपमा मुख्यमन्त्री शेरधन राईबाट अघिल्लो दिन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो बर्खास्तगीमा परेका थिए । शनिबार आङवो पदच्युत भएको भोलिपल्ट १ मन्त्रीसहित ३ जनाले सरकार छाडेको घोषणा गरेका छन् । 


आईतबार विहान ८ः०० बजे सामाजिक विकासमन्त्री जीवन घिमिरे र दुई राज्यमन्त्रीले प्रदेश सरकारमा नरहने भन्दै हस्तलिखत राजीनामा दिएको घोषणा गरेका हुन् । घिमिरेसँगै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले दिएको राजीनामा नेपाल पत्रकार महासंघ प्रदेश महासचिव बिबेक गौतमको फेसबुक टाईमलाईनमा सार्वजनिक भएको छ । 


गजमेर यसअघि ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएकी थिईन् । उनले केन्द्रीय सदस्य अस्वीकार गरेकी थिईन् । 

 

काठमाडौंसमेत समेटिएको बागमति प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार नै अविश्वासको प्रस्ताव दर्ता भईसकेको छ ।