‘हामी बिप्लव समूहमा छैनौं’

२0७७ पुष १0 शुक्रबार
‘हामी बिप्लव समूहमा छैनौं’

उदयपुर


ताप्ली बम काण्डमा संलग्न भएको आरोपमा पक्राउ परी महिनादिनपछि हिरासतमुक्त भएका जिल्ला विकास समितिका पूर्व सदस्य गौरबहादुर देवकोटा र पविता रपालले आफुहरु नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको प्रतिबन्धित समूहमा नरहेको घोषणा गरेका छन् । 

 

गत मंसिर ६ गते ताप्ली गाउँपालिका कार्यालयमा भएको बम विष्फोटको घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका ताप्ली गाउँपालिका ५ का गौरबहादुर देवकोटा र ताप्ली १ पिपलभञ्ज्याङकी पबिता रपालले शुक्रबार छुट्टाछुट्टै बिज्ञप्ती जारी गरी आफुहरु बिप्लव समूहमा संलग्न नरहेको स्पष्ट पारेका हुन् ।

 

गाउँपालिकामा बम विष्फोट भएको घट्नापछि  बिप्लब समूहमा संलग्न भएको आशंकामा ६७ वर्षीय देवकोटा र ३० वर्षीया रपाललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा उनीहरु निर्दोष भएको ठहर भएपछि हिरासतमुमक्त भएका थिए । देवकोटा र रपालले जारी गरेको विज्ञप्तीमा आफुहरु बिप्लब समूहमा मात्र नभएर कुनै पनि पार्टीमा संलग्न नभएको स्पष्ट पारेका छन् । 

 

 विज्ञप्तीमा देवकोटा र रपालले आफुहरु २ वर्षअघिदेखि नै उक्त समूहबाट अलग भएको र हाल कुनै पनि जिम्मेवारीमा नरही स्वतन्त्रतापूर्वक जीवन बिताईरहेको उल्लेख गरिएको छ ।मंसिर ६ गते ताप्लीमा बिष्फोट हुनुका साथै गाउँपालिका प्रवेशद्वारमा एउटा सकेट बम फेला परेको थियो । बेवारिसे बम १८ घण्टापछि नेपाली सेनाको डिस्पोजल टोलीले निस्कृय पारेको थियो । 

 

 

त्यसको दुईसाता नबित्दै मंसिर १८ गते कटारी ८ मर्जेतपुरस्थित सौर्य सिमेन्टको चुनढुंगा खानीमा ५ मजदुर घाईते हुनेगरी ४ वटा बम विष्फोट भएको थियो । त्यसको केहीदिनपछि पुस १ गते त्रियुगा नगरपालिका १४ को धाब्लाङमा अर्को २ वटा बम विष्फोट भएको थियो । 

यसरी एकपछि अर्को विष्फोट हुनुमा प्रतिबन्धित बिप्लब समूहका कार्यकर्ताको संलग्न भएको आशंकामा प्रहरीले सोधपुछ गर्ने भन्दै केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सोही क्रममा देवकोटा र रपाल पक्राउ परेका हुन् ।