दिनहुँ प्रधानमन्त्रीको पुत्ला दहन

२0७७ पुष १0 शुक्रबार
दिनहुँ प्रधानमन्त्रीको पुत्ला दहन

उदयपुर
 

    नेकपा अध्यक्ष तथा प्रधामन्त्री केपी ओलीले गरेको संसद विघटन र चुनाव घोषणाविरुद्ध दिनहुँ उदयपुरमा विरोध प्रदर्शन र पुत्ला दहन कार्य हुँदै आएको छ । यसै क्रममा शुक्रबार पनि प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन भएको छ । 
    

यसैक्रमा शुक्रबार पनि प्रतिपक्षी दल जनता समाजबादी पार्टीले ओली र भण्डारीको पुत्ला दहन गरेको हो । बिभिन्न नारासहित निस्केको समाजबादी पार्टीका नेता कार्यकर्ताको जुलुसले बजार परिक्रमापछि दिउँसो ४ः३० बजे गाईघाट लोकतान्त्रिक चोक (पिपलचोक) मा पुत्ला दहन गरेको हो । 

 
सानो संख्यामा रहेको जुलुसले नियन्त्रणमा लिन खोज्दाखोज्दै आन्दोलनकारीले चलाखीपूर्वक पुत्ला दहन गर्न सफल भएको पार्टीले जनाएको छ । बजार परिक्रमापछि चोकमा आईपुगेको जुलुसले नारा लगाउँदै दहन गर्न दुईवटा पुत्ला निकालेकोमा एउटा प्रहरीले खोसेको थियो । तर, एउटा पुत्ला कार्यक्रमस्लमै र अर्का दुईवटा पूर्वपटि सडकमा कार्यकर्ताले जलाउन सफल भएका थिए । 


संसद विघटनको सिफारिस र राष्ट्रपतिले स्वीकृत गरेकै दिन पनि नेकपानिकट अनेरास्ववियु र युवा संघ नेपालका जिल्ला समितिको आयोजनामा विरोध कार्यक्रमसहित पुत्ला दहन भएको थियो । त्यसयता दिनहुँ विरोध कार्यक्रम र पुत्ला दहन हुँदै आएको छ ।