साकेला गाउँपालिकाको सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण

२0७७ पुष ७ मंगलवार
साकेला गाउँपालिकाको सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण

साकेला, खोटाङ
    

जिल्लाको साकेला गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्ने तयारी थालेको छ । नगदै भत्ता वितरण गर्दा व्यापक अनियमितता भएको चौतर्फी गुनासो आईरहेका बेला साकेलामा अनियमितता रोक्न र पारदर्शी वितरण प्रणाली अपनाउन बैंकमार्फत वितरण गर्ने प्रक्रिया अघि बढाएको हो ।


नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता अनिवार्य रुपमा बैकमार्फत मात्र वितरण गर्न सबै स्थानीयतहहरुलाई निर्देशन दिएकै बेला चालु आर्थिकवर्ष २०७७–७८ देखि नै बैंकमार्फत भत्ता वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए । उनका अनुसार चालु वर्षको दोस्रो चौमासिकबाट अनिवार्य बैंकिङ प्रणाली लागु गर्न लागेको बताए । 


त्यसका लागि गाउँपालिकामा स्थापित नेपाल एसविआई बैंकको साकेला शाखासँग भत्ता वितरणका लागि सोमबार द्विपक्षीय सम्झौता भएको छ । विभिन्न १५ बुँदे सम्झौतापत्र अध्यक्ष खड्काले बैंकका शाखा प्रबन्धक पोषक दाहाललाई हस्तान्तरण गरेका छन् । सम्झौतापत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगर र शाखा प्रबन्धक दाहालले हस्ताक्षर गरेका छन् । 


५ वटा वडा रहेको साकेलामा करिव १ हजार ५ सय सामाजिक सुरक्षा भत्ताका लाभग्राही छन् । उनीहरुलाई भत्ता वितरण गर्नका लागि शून्य मौज्दात (रकम नलाग्ने) मा खाता खोल्ने व्यवस्था बैंक र गाउँपालिकाबीचको सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । मगरका अनुसार शून्य मौज्दातमा खोलिएको खाता सक्रिय गराउन लाभग्राही स्वयं बैंकमा उपस्थित भएर कारोबार गर्न सक्ने व्यवस्था छ । 


चालु आर्थिकवर्षको पहिलो चौमासिकवापत गाउँपालिकाले १ करोड ३९ लाख ४७ हजार ८ सय ८९ रुपैंया वितरण गरिसकेको छ । जस अनुसार वडा नं. १ बाँझेच्यानडाँडामा ४१ लाख ७९ हजार ८ सय २१ वितरण गर्दा २ नं. रतन्छामा ३० लाख ९० हजार ५ सय ३८ रुपैंया भत्ता बाँडिएको छ । त्यस्तै ३ नं. खिदिमामा १५ लाख ५४ हजार २ सय २७, वडा नं. ४ मात्तिममा २५ लाख ६६ हजार ४ सय ४० र ५ नं. मात्तिममा २५ लाख ५६ हजार ८ सय ६३ रुपैया भत्ता वितरण गरिएको लेखापाल उत्तम आचार्यले बताए ।