संसद विघटनविरुद्ध सर्वोच्चमा १२ रिट

२0७७ पुष ६ सोमबार
संसद विघटनविरुद्ध सर्वोच्चमा १२ रिट

काठमाडौं

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ निवेदन परेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा एउटा र साधारणतर्फ ११ निवेदन दायर भएका अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। साधारणतर्फको निवेदनको प्रारम्भिक सुनुवाइ पुस ८ गते र संवैधानिक इजलासको निवेदनको प्रारम्भिक सुनुवाइ पुस १० गते तोकिएको ढकालले बताए । 

 

प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई निवेदन दायर गरिएको उनले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकारका सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेका थिए ।

 

संवैधानिक इजलासतर्फ सन्तोष भण्डारीले धारा ७६ को विकल्पबाट सरकार गठन हुन नसक्दा मात्र संसद् विघटन हुने भन्दै सो कदम रोक्न माग गरेका छन् । साधारणतर्फ अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल, लोकेन्द्रबहादुर ओली, ज्ञानेन्द्र आरण, शालिकराम सापकोटा, कलमबहादुर खत्री, मनिराम उपाध्याय, दिनेश त्रिपाठी, अमिता गौतम, कृष्णप्रसाद शर्माले निवेदन दिएका छन् ।

 

साधारणतर्फ प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार नभएको, प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको र प्रतिनिधिसभाबाट अर्को सरकार बन्न नसक्ने अवस्थामा बाहेक संसद् विघटन गर्न सक्ने प्रावधान संविधानमा नभएकाले हुँदै नभएको अधिकार प्रयोग गरी भएको विघटन गैरसंवैधानिक रहेको निवेदनमा उल्लेख छ ।