संघीयता र गणतन्त्रको उपहारः स्थानीयतहकै पहलमा बन्यो कोविड अस्पताल

२0७७ पुष ६ सोमबार
संघीयता र गणतन्त्रको उपहारः स्थानीयतहकै पहलमा बन्यो कोविड अस्पताल

शिवुहाङ राई
बेलटार

 


वैशाख ५ गते उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा एकैदिन ११ जना भारतीय नागरिकमा कोरोना भाईरस संक्रमण भेटियो । विश्वभर त्राहीत्राही बनाईरहेको कोविड एक्कासी उदयपुरमा त्यति ठूलो परिमाणमा देखिएपछि जिल्लाबासीमा त्रास छाउन स्वभाविक थियो । 


सर्वसाधारणसँगै स्वास्थ्यकर्मी, जनप्रतिनिधि, प्रशासक र प्रहरी सबै आत्तिन थाले । उपचार गर्ने व्यवस्था काठमाडौं, धरान र विराटनगरमा मात्र भएकाले अकालमा मर्नुपर्ने त्रास देखेका जनताले उदयपुरमै कोविड अस्पताल खोल्नुपर्ने चर्को माग गरे । जनताको माग अनुसार गाईघाटमै अस्पताल खोल्न त्रियुगा नगरप्रमुख बलदेव चौधरीलगायत जनप्रतिनिधिले सरकारको ध्यानाकर्षण गराए । तर, संघ र प्रदेश सरकार आफै आत्तिएको अवस्था थियो, माग सुन्ने कुरै भएन ।


पटक पटक माग गर्दा पनि बेवास्ता भएपछि जिल्लाका सबै स्थानीयतहहरु मिलेर आफ्नै पहलमा उदयपुरमा अस्थायी कोविड अस्पताल सञ्चालन गर्ने निर्णयमा पुगे । र, चौदण्डीगढी नगरपालिका बेलटार ६ सातधारेस्थित सशस्त्र प्रहरी बलका लागि निर्माणाधीन ब्यारेकक्षेत्रमा आईसोलेसन केन्द्र सुरु भयो । प्रदेश र संघले सहयोग नगरेकाले जिल्लाका त्रियुगा, चौदण्डीगढी, कटारी र बेलका ४ नगरपालिकाले १५ लाखका दरले र लिमचुङुङ, रौतामाई, उदयपुरगढी र ताप्ली ४ गाउँपालिकाले १० लाखका दरले रकम छुट्याए । 


गणतन्त्र र संघीयता प्राप्त भएसँगै स्रोत, साधन र अधिकारले सम्पन्न स्थानीय सरकारहरुको पहलमा सुरु कोविड अस्पतालले गएको असारदेखि कोविड संक्रमितको उपचार कार्य थाल्यो । र, सफलतापूर्वक विरामीलाई निको पार्दै घर पठाउँन पाएपछि अस्पताल सञ्चालन गर्ने ८ वटै स्थानीयतह संलग्न संगठन ‘उदयपुर विकास बोर्ड’ हौसिदै आगामी दिनमा वहुआयामिक अस्पताल बनाउने उदेश्यका साथ पक्की भवन बनाउने योजना अघि सार्यो ।


त्यसकै उपलब्धीस्वरुप ४ वर्षीया बालिकादेखि ५९ वर्षे बृद्धसम्मले कोविड मुक्त हुन पाएको अस्पतालमा अहिलेसम्म उदयपुरबाहेक रुकुम, सर्लाही, महोत्तरी, खोटाङसम्मका संक्रमितहरुको सफल उपचार पाए । उदयपुरबासी मात्र नभएर अन्य जिल्लाबासी संक्रमितकोसमेत उपचार गर्न सफल  अस्पतालले स्थानीयतहहरुकै पहलमा नयाँ पक्की भवनसमेत निर्माण सम्पन्न भएको छ । 


अस्पताल भवन निर्माण गर्न स्वीस सरकारको १ करोड ५० लाख रुपैंया सहयोग गरेको छ भने ८ वटा स्थानीयतहबाट १ करोड, उदयपुर निर्वाचन क्षेत्र १ का सांसद डा. नारायण खड्काको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २५ लाख र बाँकी अन्य स्रोतबाट मिलाइएको अस्पताल सञ्चालक समिति अध्यक्ष तथा चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले बताए । 


संघीयता र गणतान्त्रिक व्यवस्था नेपाली जनतालाई नयाँ संविधानको उपहार सावित भएको भन्दै त्यसकै आधारमा स्थानीयतहहरु मिलेर जिल्लमै कोविड अस्पताल बनाउन सफल भएको मेयर राईले बताए । उनका अनुसार अपाङ्ग तथा बालमैत्री भवनमा ९ वटा फराकिला कोठा छन् भने पुरुष महिला र अपाङ्गतामैत्री शौचालय, खानेपानी र विद्युतको व्यवस्था गरिएको छ । मेयर राईले अस्पतालका ८ वटा कोठा प्रत्येकमा ४ वटाका दरले ३२ शैय्या (बेड) तयार गरिएको बताएका छन् । एउटा कोठा भने डा. र स्वास्थ्यकर्मी बस्नका लागि छुट्याइएको छ । अस्पताल भवनको कम्पाउण्ड घेराबेरासमेत गरिसकिएको छ । 


३ करोड २५ लाख लागत मूल्यमा निर्मित भवनको सोमबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे र नेपालका लागि स्वीस सरकारका राजदुत एलिजावेथ भोन क्यापेलरले संयुक्त रुपमा उद्घाटन गरे । मन्त्री घिमिरेले विश्वव्यापी त्रासको कारण बनेको कोविड नियन्त्रणमा उदयपुरले उदाहरणीय कदम चालेको भन्दै त्यो तरिका देशकै लागि नमूना भएको बताए । 


नेपालमा ३ तहको सरकार भएकै कारण कोविड नियन्त्रण गर्न धेरै सहज भएको भन्दै मन्त्री घिमिरेले संघीयता र गणतन्त्रको व्यवस्थाले विदेशतिरभन्दा नेपालीलाई कोविडले कम सताएको बताए । उनले स्वीस सरकारले उदयपुर मात्र नभएर १ नं. प्रदेशकै कोविड नियन्त्रणमा अतुलनीय सहयोग गरेको भन्दै प्रशंसा गरे । प्रदेश कोविड अस्पताल बनाउनेदेखि बेड थप्ने हुँदै अक्सीजन प्लान्ट निर्माण गर्नसम्म स्वीसले गरेको सहयोगप्रति घिमिरेले आभार व्यक्त गरे । 

स्वीस राजदुत एलिजावेथले नेपाल र स्वीस सरकारबीच धेरै कुरामा मेल खाने भन्दै स्वीसले नेपाललाई भाईबन्धुसरह सहयोग गर्दै आएको बताईन् । नेपाल आफुलाई धेरै सुन्दर लाग्ने भन्दै उनले नेपालीहरु स्वाभिमानी र आत्मसम्मानमा बाँच्ने स्वभावको भएकाले स्वीसले निरन्तर सहयोग गर्दै जाने बताईन् ।    


उदयपुर विकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरप्रमुख बलदेव चौधरीले देशमा कोविड भर्खर प्रवेश गरेका बेला त्राहीत्राही बनाउने गरी भुल्केमा संक्रमितथ भेटिएसँगै जिल्लामै अस्पताल स्थापना गरेर जनताको उपचार गर्ने योजना सफल भएको बताए । उनले स्वीस सरकार र सबै स्थानीयतहलाई भवन बनाउन सफल भएकोमा धन्यबाद दिदै आगामी दिनमा अस्पताललाई बहुआयामिक बनाएर अघि बढ्ने बताए । 


विकास बोर्डका सचिव तथा बेलका नगरप्रमुख दुर्गाकुमार थापाले सञ्चालन गरेको कार्यक्रममा ८ वटै स्थानीयतहका प्रमुख, उपप्रमुख तथा प्रदेश सांसदहरु कला घले, अम्बिा थापा र सुनिता चौधरीको उपस्थिति थियो । चौदण्डीगढी उपमेयर रीताकुमारी चौधरीले स्वागत मन्तव्य दिदै जिल्लामै खोलिएको कोविड अस्पतालले आफुलगायत उदयपुरबासी संक्रमितसँगै धेरै ठाउँका कोविड विरामीलाई निको पारेको बताएकी थिईन् ।