उदयपुरमा ब्राभो पापाः ३ सय २२ डोज ब्राउनसुगरसहित ९ पक्राउ

२0७७ पुष ६ सोमबार
उदयपुरमा ब्राभो पापाः ३ सय २२ डोज ब्राउनसुगरसहित ९ पक्राउ

शिवुहाङ राई

गाईघाट

दुईसाता नपुग्दै उदयपुरमा ४५.३६ ग्राम लागुऔषध ब्राउनसुगरसहति प्रयोग र कारोबार आरोपमा ९ जना पक्राउ परिसकेका छन् । अघिल्लो (आईतबार) दिन मात्र गाईघाट बजारको मेनचोकबाटै एक युवा पक्राउ परेपछि उनको बयानका आधारमा एक युवति र केही घण्टापछि अर्का युवक पनि गाईघाटबाटै ब्राउनसुगरसहित पक्राउ परे । 


आईतबार दिउँसो १ः०० बजे गाईघाट मेजचोकबाट त्रियुगा नगरपालिका ११ का जोनसिना भन्ने ३० वर्षीय सुमन बस्नेत ०.२० ग्राम ब्राउनसुगरसहित पक्राउ परेपछि उनीमाथि केरकार सुरु भयो । स ११ प ६५९६ नं. को स्कुटरमा सवार बस्नेतमाथि खानतलासी लिँदा ब्राउनसुगर र ९ हजार ६ सय २० रुपैंया नगदसमेत बरामद भएपछि उनकै बयान अनुसा त्रियुगा नगरपालिका १४ साउने घर भई त्रियुगा १२ बस्दै आएकी २५ वर्षीया पार्वती मगरको डेरामा खानतलासी लिँदा थप २०.३४ ग्राम ब्राउनसुगर र ५७ हजार ८ सय रुपैंया फेला पर्यो । 


मगरको डेराबाट ब्राउनसुगर सेवन गर्न प्रयोग हुने प्लेट, बिलेट र १ थान इन्सास राईफलको गोली तथा चुरोट र सिक्का पैसासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मगरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ । उनीहरु पक्राउ परेकै राति ८ः३० बजे त्रियुगा नगरपालिका १३ बरुवाखोलाबाट स १० प ९७३३ नं. को मोटरसाईकलमा चेकजाँच गर्दा त्रियुगा ११ का ३२ वर्षीय नसिव राईको साथबाट १६.३७ ग्राम ब्राउनसुगर र ११ हजार २ सय रुपैंया नगद फेला परेको प्रहरीले जनाएको छ ।

बस्नेत र मगर तथा राई पक्राउ पर्नुभन्दा सातादिनअघि २ मोटरसाईकलसहित त्रियुगा २ को लुहालेखोला सडक किनारबाट ५ युवा पक्राउ परेका थिए । स ९ प ७३३२ र स ९ प २३३२ नं. को मोटरसाईकल र ३ ग्राम ब्राउनसुगरसहित मंसिर ३० गते प्रहरीले त्रियुगा २ का ३१ वर्षीय रेवतकुमार खाती, त्रियुगा ३ का ३४ वर्षीय रोहितकुमार चौधरी, ३३ वर्षीय जगसन राई र ३८ वर्षीय पर्वत दाहाल तथा त्रियुगा ४ का ३२ वर्षीय देवेन्द्र मगरलाई पक्रेको थियो ।


त्यसअघि मंसिर २४ गते त्रियुगा नगरपालिका ११ ईनारटोलबाट ५.२५ ग्राम ब्राउनसुगरसहित सोही ठाउँका २२ वर्षीय भीमकुमार चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी  कार्यालय उदयपुरले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ । प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार केहीदिनयता मात्र ४५.३६ ग्राम परिमाणको ब्राउनसुगर र त्यसमा संलग्न ९ पक्राउ परेका छन् । यो परिमाणको ब्राउनसुगर भनेको ३ सय २२ डोज हुने र यसले धेरै जनालाई बर्बाद बनउान सक्ने उनले बताए । १ डोज बराबर १ हजार मूल्य पर्ने भन्दै उनले ३ लाख २२ हजार मूल्यबराबरको ब्राउनसुगर बरामद भएको एसपी दाहालले बताए ।  लागुऔषध कारोबार र विक्री वितरण बढ्दै गएपछि नियन्त्रण गर्ने योजना अनुसार जिल्लाव्यापी अभियान चलाउँदा प्रहरीलाई यो सफलता मिलेको पत्रकार सम्मेलनमा उनले बताए । 


जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमका अनुसार गाईघाटलगायत उदयपुरमा लागु औषधको प्रयोग र कारोबार बाक्लिदै गएपछि प्रहरीले ‘ब्राभो पापा (द्यच्ब्ख्इ एब्एब्)’ नामक अप्रेसन चलाएर खोजी कार्य थालेको छ । अप्रेसनकै सिलसिलामा ब्राउनसुगर र त्यसमा संलग्नहरु पक्राउ पर्ने गरेको डिएसपी गौतमले बताए ।


प्रहरीले ब्राभो पापा अप्रेसनलाई थप सक्रिय बनाउँदै लागुऔषधविरुद्ध अभियानलाई तिब्रता दिने योजना बनाइएको छ । यसअघि धेरै प्रकारका लागुऔषध भित्रिने गरे पनि ब्राउनसुगर त्यत्ति भित्रिएको थिएन । भर्खरभर्खर भित्रिन थालेको ब्राउनसुगरले युवा जमातलाई बबार्द बनाउने भएकाले यसको नियन्त्रणका लागि स्थानीय सरकार, अभिभावक, राजनीतिक दल, नागरिक समाज, विद्यार्थी, युवा सबै मिलेर अघि बढ्नुपर्ने प्रहरीको अनुरोध छ ।